मीनाको ममतामा माैलाएका हेटौंडाका पार्क

Image

हेटौंडा उपमहानगरपालिकाको दिनभरिको अफिसियल काम अनि कार्यकर्ता र जनताको भेटघाटका तनावबीच शालिन मौनतासाथ थोरै थोरै बोलिरहेकी मीना लामा त्यतिबेला अलि हौसिएर बोल्न थालिन् , जतिबेला कुराको सन्दर्भ आयो पार्क, शहरी हरियाली र हेटौंडाको स्वरुपको । केही समय अगाडि मेयर लामासँग भेट हुँदा भन्दै थिइन्, ‘अब हेटौंडा उपमहानगरभित्रका सडक फूल र बिरुवाका एकरुपताले चिनिनेछन् ।’


 
मेयर लामाको स्वभाव नै प्रकृति, फूल, बिरुवा, पार्क र जंगल भनेपछि प्रफुल्ल हुने रहेछ । अझ उपमेयर हुँदा होस् वा मेयर भएपछि आफूले गरेका प्रकृति संरक्षणका कामको कुराले भने दिनभरका थकान त सजिलैै भूलेको देखिन्थ्यो नै अझ कहिले नयाँ कार्यक्रमप्रति हौसिन्थिन भने कहिले आफैंमा खुसी महसूस गरेकोे बुझ्न सकिन्थ्यो ।

२०७४ को निर्वाचनमा उपमेयर र २०७९ मा मेयर जितेकी मीना लामाले आफ्नो कार्यकालमा पार्क संरक्षणलाई दिएको प्राथमिकता त अझ प्रेरक रहेछ । पुष्पलाल पार्क, चिल्ड्रेन पार्क, बुद्ध पार्क, मानव सेवा आश्रम तथा पार्क, वीपी गणेशमान पार्क, रामनगर पार्क, राप्ती पार्क, शंख पार्क, हरित पार्क लगायतका पार्कको नाम भटाभट लिन थालिन् ।

हेटौंडा उपमहानगरपालिकाका झण्डै दुई अढाइ सय पर्यटकीय स्थलको रूपमा रहेका स्थानमा अधिकांश पार्क रहेको र पार्कको विकासमा आफू मनैदेखि प्रफुल्ल रहेको लामा बताउँछिन् । सालक पार्क, सहिद स्मृति पार्क लगायतका विभिन्न पहिचानका पार्कको विकासले हेटौंडालाई पार्कहरूको शहरको रूपमा चिनाउन सकिने सम्भावना बढिरहेको महसूस हामीलाई पनि हुँदोरहेछ ।

नगरपालिकाकै गाडीमा नगरपालिकाबाट उत्तरपूर्वतिर हाइवेमा यात्रा गरिरहँदा ड्राइभरलाई गाडी रोक्न लगाएर लामाले ओर्लिन आग्रह गरिन् । मेयर नै ओर्लिइसकेपछि ओर्लिएका हामीलाई सडक किनारबाट राप्तीको दायाँबायाँ देखाउँदै भनिन् , ‘यो बगरलाई पार्क बनाउँदा भने अर्कै प्रेरणा पाएँ नि ।’

मुस्काउँदै बोल्ने बानी भएकी लामाको अलि भिन्न शैलीको लबजमा आएको यो प्रेरणाको कहानी अलि भिन्न नै रहेछ । राप्ती किनारको बगरमा वृक्षरोपण गरेर पार्कको अवधारणा लिँदा भने ‘ढुंगामाथि बिरुवा रोपेको’ भन्दै आलोचना भएको रहेछ । ती दिन सम्झिँदै हुर्किएर झपक्क भएका फलफूलका बिरुवाहरु देखाउँदै लामाले मुस्काउँदै भनिन्, ‘हामीलाई पो त्यो ढुंगा, त्यो माटोको थुुप्रो भन्ने लाग्छ त, एउटा बिरुवालाई त त्यही ढुंगो र माटो नै प्राण त रहेछ । विरोध गर्नेले गरिरहे, अहिले पार्क बनिसक्यो ।’ आजकल त विरोध गर्नेले पनि पार्कको प्रशंसा गर्न थालेका छन् ।

हामी यात्रामा अघि बढ्दै गर्दा मेयर लामाले हेटौंडाका राजनीतिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक परिचय बोकेका हरेक पर्यटकीय क्षेत्रलाई समेत पार्कको परिचय जोड्ने चाहना बढेको बताइन्। हरेक पर्यटकीय स्थानको डीपीआर देखि योजना र बजेट निर्माणमा पार्कको निर्माण, फलफूल तथा जडिबुटीको बगैंचा प्राथमिकतामा पर्ने गरेको उनले सुनाइन् ।

नदी उकासको जग्गादेखि खेर गएको सार्वजनिक जग्गा, चोक अनि हरेक घरका अगल बगललाई हरियाली र पार्कयुक्त बनाउने मीनाको सपनाले हरियो हेटौंडा जन्माइरहेको छ । हरिया पातले घेरिएरबीचमा रंगीविरंगी फूलेको थुंगा जस्तै विभिन्न रंगका फुलबारीसहितको हेटौंडाको सपनाले मीनालाई निदाउन दिएको रहेनछ । मैत्री सम्बन्ध राख्ने विभिन्न देशका नगरपालिकासँग समेत पार्कका कुरा हुँदा रहेछन् लामाले आफ्नो पार्क प्रतिष्ठाको हुटहुटी खुलाइन्, ‘जहाँ गए पनि विकासका अरु प्राथमिकतासँगै पार्क चैं भुल्दोरहिनछु ।’ चीनको युनानसँग भएको भगिनी सम्बन्धको एउटा कोसेलीको रूपमा पार्क निर्माण भएको समेत लामाले बताइन् ।
हेटौंडाबाट फर्किएपछि..............

 

Tags: