रोटरी क्लब अफ गोंगबुको ‘डिस्ट्रिक्ट गभर्नस भिजिट’ सम्पन्न
काठमाडौं–रोटरी क्लब अफ गोंगबुको ‘डिस्ट्रिक्ट गभर्नस मिटिङ’ बिहीवार सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा गभर्नर शेरचनले समुदायले लाभ लिने गरी र समुदायबाट प्रोत्साहन मिल्ने गरी योजना बनाएर रोटरीले काम गर्नुपर्ने बताए ।
रोटरीले आफ्ना गतिविधी अगाडि बढाउँदा स्थानीयको सहभागिता तथा रोटरी इन्ट्रयाक्ट, रोट्रयाक्ट, आरसीसीलाई प्राथमिकता दिँदा योजनाले प्रभावकारिता पाउने उनको भनाइ थियो । रोटरीले पछिल्लो समय क्यान्सर रोकथामको लागि गम्भीरताका साथ अगाडि बढ्ने योजना बनाएकोले नेपालमा पनि क्लबहरूबाट यसको कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । रोटरीले पोलियो उन्मुलनको लागि विश्वभर अभियान चलाएको बताउँदै उनले अहिले पनि विश्वमा पोलियो उन्मुलन नभएकोले नेपालको सन्दर्भमा पनि हालसालै पोलियो भाइरस देखिएकोले सचेतना अभियान चलाउन आवश्यकता रहेको बताए ।
कार्यक्रमममा डिस्ट्रिक्ट सेक्रेटरी अशोकनाथ प्याकुरेल, एसिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर प्रविण भट्टराई, जोइन्ट डिस्ट्रिक्ट सेक्रेटरी अशोकमान कपाली लगायत क्लबका सदस्यको उपस्थिति थियो ।