ओशोधारा नेपालको ध्यान योग सम्पन्न

Image

काठमाडौं– ओशोधारा नेपालद्वारा आयोजित सन्तुलनयुक्त आनन्दित, शान्त, सृजनशील एवं ध्यानमय जीवनको कला सिकाउने ध्यान योग कार्यक्रम  सम्पन्न भएको छ। ओशोधारा नेपाल काठमाडौं साधना केन्द्रमा संचालन भएको उक्त कार्यक्रममा ३५ भन्दा बढी सहभागीले लाभ लिएका थिए।

वैशाख २८ गतेदेखि ३० गतेसम्म संचालित उक्त कार्यक्रममा ध्यान र प्रज्ञाको माध्यमबाट स्वाध्यायको कला प्रस्तुत भएको थियो। कार्यक्रममा उच्च पदस्थ कर्मचारी, विद्यार्थी, व्यापारी, गृहिणी लगायत प्रवुद्ध व्यक्तिहरू समेतको सहभागिता रहेको थियो । सहभागितामुलक ढाँचाको उक्त कार्यक्रमबाट सम्पूर्ण अध्यात्मलाई व्यवहारिकता र वैज्ञानिकरूपमा अनुभव गर्न सफल भएको सहभागीहरूको भनाइ थियो।

प्रवचन सुनेर मात्र होइन आफ्ना मन र विचारका तह तहलाई स्वाध्याय गर्दै ध्यानयोगको अभ्यास मार्फत आफूलाई रूपान्तरण गर्ने सूत्र भेटेको सहभागी पुष्पा निरौलाले बताइन्। ‘संसार बदल्न होइन आफैं रूपान्तरित हुने कला सिकें, अब म नै मेरो रोल मोडेल हो,’ उनले भनिन् । ध्यानको बारेमा सुनेको र ओशोधारा नेपालको ध्यान केन्द्रमा गएर अभ्यास गरेको अगाडिको अनभव भएपनि ३ दिनको ध्यान योग कार्यक्रममा अद्भूत सूत्र रहेको महसुस  गरेको सहभागी भावना भट्टराईले बताइन् । ‘जसले जीवनलाई हेर्ने, जिउने र आनन्द लिने कला सिकायो, गहिराईबाट ध्यान र प्रज्ञाको विकास गर्ने अवसर पाएं। अब यसलाई निरन्तरता दिनेछु ,’ उनले भनिन् ।
 

ध्यानमा रहन र जीवनलाई सकारात्मक बनाउन पहल गरिरहेको व्यक्ति भएको तर जीवनमा यसलाई गहिराईबाट बुझ्न, अनुभव गर्न र निरन्तरता दिन जिवन्त गुरूको आवश्यकता पर्ने महसूस गरेका अर्का सहभागी राजु बरालले बताए । ‘३ दिनको कार्यक्रमले पूरा सूत्र दिएको अनुभव गरेको छु, अब यसलाई निरन्तरता दिनेछु,’ उनल भने । ३ दिनको समय बितेको पत्तै नभएको र जीवनमा सिकेका सबै सिकाईको लक्ष्य ध्यानमा प्रवेश गरेर आनन्दित, शान्त र प्रेमल भएर बाँच्नु रहेछ भन्ने जानकारी पाएको सहभागी पूर्ण शिलवालले बताए।

गृहिणी भएर सबैका सोच र विचारलाई आफ्नो दिमागमा राखेर बस्नुपर्ने आफू जस्तालाई ध्यानको कला सिकेर स्वयंमा डुब्नु अति सान्दर्भिक सूत्र रहेछ भन्ने सिकेको सहभागी सावित्री अधिकारीले बताइन् । ‘अब मेरो घर, परिवार र सबैको सोच बदलिनेछ, म आनन्द, खुसी भएं भने सब ठिक हुने रहेछ। अब म आफूलाई गृहिणी, केहि गर्न नसक्ने, केहि नजानेको होइन कि मेरो सामथ्र्य र निजतामा जिउने सूत्र पाएँ, यसलाई कायम राख्छु , ’ उनले भनिन् । अर्की सहभागी शारदा बन्जाडेले  जीवनलाई एकोहोरो कथा बनाएर, अरूका कथामा बाँचेर, अरूको झोला बोकेर, दुखको झोला बोकेर हिंड्ने होइन रहेछ भन्ने महसूस भएको बताइन् ।  ‘आफैंमा स्वस्थ, मस्त, आनन्दित र शान्त हुनुपर्ने रहेछ। त्यसको लागि ३ दिनको यो कार्यक्रमले मलाई रुपान्तरण गरेको छ। सबैले, सबै तह र ओहोदाका व्यक्तिले, विद्यार्थीदेखि प्रवुद्ध व्यक्तिले समेत यो कार्यक्रम एकपटक गर्नुपर्छ, ’ उनले भनिन् ।
 
कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य पूजारी र आचार्य डा प्रद्युम्नराज पाण्डेले आचार्यको भूमिका मार्फत सहजीकरण गरेका थिए । दीक्षान्त कार्यक्रमलाई आचार्य दर्शनजीले सहजीकरण गरेका थिए ।

 

Tags: