तीन युवा भाषा वैज्ञानिक पुरस्कृत

Image

काठमाडौं । भाषा विज्ञान नेपालको ४५औं अन्तरराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थी ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सृजना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् ।

मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू १० हजार रुपैयाँ, प्रमाणपत्र र आवार्डबाट पुरस्कृत भएका हुन् । 

‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् । ‘बहुभाषिक कक्षाकोठमामा सिकाइमा कठिनाइ’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् ।


हरेक वर्षको अंग्रेजी महीना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो आवार्ड पाउँछन् । यो आवार्ड नेपालको भाषा बारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकले पाउँछन् । 
 
डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भिमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मुल्यांकन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकको साहभागिता थियो ।
 

Tags: