निगमको बढुवा प्रक्रिया छानविनमा, नियम मिचेकोमा अख्तियारको समेत चासो 

Image

काठमाडौं – नेपाल वायू सेवा निगमको कर्मचारी पदोन्नतिमा व्यक्तिगत मोलाहिजा र भेदभाव भएको संगीन आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे सक्रियता देखाएको छ । आफ्नो मान्छेलाई पोस्न नियम र पद्धति मिचेर यसअघि पनि बढुवा गरिएको र हालसालै फेरि त्यही दोहोर्याउन लागेको भन्दै नियामक निकाय नागरिक उड्ययन प्राधिकरण (क्यान)ले समेत चासो देखाएको छ । 

बढुवामा मापदण्ड मिचिएको, विनियमावलीको वेवास्ता गरेको, केही पाइलटले हालीमुहाली गरेको र त्यसमा सम्बन्धित महाशाखा प्रमुखको साथ रहेको गुनासो नियामक निकाय समक्ष पुगेको थियो । त्यसमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको वेवास्ता पाइएपछि क्यानले हालै व्यवस्थापनलाई कडा पत्र काटेको बुझिएको छ । 

क्याविन क्रुको बढुवामा बेथिति भएको, कनिष्ठ र बरिष्ठ एयर होस्टेजलाई मापदण्डभन्दा बाहिर गई निकटताको आधारमा बढुवा थालेकोले त्यसबारे के कसो भएको हो कागजपत्रसहित उपस्थित हुन पत्र काटिएको निगमका एक कर्मचारीले जानकारी दिए । कार्यकारी अध्यक्ष अधिकारीले नियम र मापदण्ड पालना गराउन कडाइ गर्नुपर्नेमा केही पाइलटकै कुरा सुन्दै आएको गुनासो समेत छ । 

यो विषयमा अख्तियारले समेत हात हालेकोले तर व्यवस्थापन भने कानून अनुसारै सब काम भएको भन्दै मौखिक जवाफ दिइरहेको  बुझिएको छ । यता, क्यानले हालसालै लिखित पत्र काटी अनुसन्धान शुरू गरेपछि भने वेथिति रोकिने र दोषीमाथि कारवाही हुने अपेक्षा कर्मचारीले गरेका छन् ।
 

Tags: