‘महिलाप्रतिको दृष्टिकोण परिवर्तनका लागि पनि व्यवसायमा लाग्नु आवश्यक छ’

Image

सिता भट्टराई
कार्यकारी निर्देशक

ईन्लाइटन ईन्टरनेशनल एजुकेशन


कुनै पनि व्यवसायको व्यावसायिक सफलता र सफलताको निरन्तरता महत्वपूर्ण कुरा हो । व्यवसाय त्यति बेला मात्र सफल हुन्छ, जतिबेला व्यवसायलाई सही व्यवस्थापन गरेर अगाडि बढ्न सकिन्छ । नेपालमा विशेष गरी ईन्टरनेशनल एजुकेशनसँग जोडिएका परामर्श संस्थामध्ये अग्रणी संस्थाको रूपमा छ, ईन्लाइटन ईन्टरनेशनल एजुकेशन । इन्लाइटन स्थापना र संघर्षका आफ्नै इतिहास होलान् तर यसलाई सफल बनाउँदै आफू सफल व्यवसायी बन्न सफल छिन्, यसकी अपरेसन म्यानेजर सिता भट्टराई ।

पाल्पाको भैरवस्थानमा जन्मिएकी सिता भट्टराईको बाल्यकालदेखि नै बुटवलमा हुर्किइन्, स्कुल हुँदै मास्टर्ससम्मको अध्ययन बुटवल मै पूरा गरिन् । बिजनेस म्यानेजेमेन्टमा मास्टर्स गरेकी परिवारकी कान्छी छोरी सिताका दाजु र दिदी छन् । बुवा सरकारी जागिरे थिए । उनले पनि शुरुमा स्कूल पढाउने, बैंक, इन्स्युरेन्स लगायतमा जागिर गरिन् ।  बिहेपछि काठमाडौं आएर श्रीमानले गर्दै आएको एजुकेशन कन्सल्टेन्सीको व्यवसायलाई सम्हाल्दै आएकी उनी अहिले व्यवसायलाई सफल व्यवस्थापनका साथ अगाडि बढाएकी छिन् ।

बैंक, इन्स्युरेन्स जस्तो व्यवस्थित संस्थामा जागिरेको रूपमा काम गरेकी उनलाई यो व्यवसायमा जोडिँदा सुरुमा केही असहज महसुस पनि भएको थियो तर उनलाई आफ्नो योग्यता, क्षमता तथा अनुभव माथि विश्वास थियो, व्यवसायलाई पनि व्यवस्थित बनाउन सकिन्छ र यसमै रमाउन सकिन्छ भन्ने लाग्यो, उनी व्यवसायमा जमिन् । ‘शुरुमा यो व्यवसायभन्दा पनि हिच्किचाहट हुन्थ्यो, कन्सल्ट्न्सी भन्दा केही अफ्ठ्यारो पनि लाग्थ्यो तर विस्तारै बुझ्दै गइयो, यसको इन्टरनेशनल रेकोग्नेसनको बारेमा थाहा भयो,’ उनले भनिन्, ‘नेपालमा अहिले पनि सकारात्मक रूपमा हेरिन्न तर विद्यार्थीलाई अन्तरराष्ट्रिय शैक्षिक प्लेटफर्ममा जोड्ने र उनीहरुको भविश्य बनाउनको लागि पहल गर्ने काम आफैमा नराम्रो होइन, अहिले मलाई मेरो पेशा प्रति खुसी नै लाग्छ ।’

यो व्यवसाय सधै सिकाइको रूपमै रहने व्यवसाय हो, नेपालको मात्र नभएर विश्वमा भएका परिवर्तन र विभिन्न देशका नीति, नियमका विषयमा जानकार हुनुपर्ने उनको अनुभव छ । उनले यही पेशा नै अंगाल्छुु भन्ने त थिएन तर व्यवस्थापनको विद्यार्थी भएको कारण व्यवसायमा जोडिनुपर्छ भन्ने उनलाई पहिले देखि नै लाग्थ्यो ।

महिला व्यवसायमा जोडिन आवश्यक छ ? उनी भन्छिन्, ‘व्यवसाय महिलाको व्यक्तित्व विकासका लागि पनि जरुरी छ । त्यसमाथि हाम्रो समाज नै पुरुष प्रधान समाज हो महिलालाई हेर्ने दृष्टिकोण र महिलाको घरको कामको मूल्यांकन छैन, परनिर्भरताको दृष्टिले हेरिन्छ, यो अवस्थाबाट बाहिर आउनको लागि महिला व्यवसायमा जोडिन आवश्यक छ ।’

आफूले हासिल गरेको शिक्षालाई प्रयोगमा ल्याउन कुनै न कुनै रूपमा व्यावहारिक काममा जोडिनुपर्ने उनको तर्क छ । ‘आत्मनिर्भरता हरेक क्षेत्रमा जरुरी छ, त्यसमाथि महिलालाई घरको काम सम्हालेर जागिर, व्यवसाय सम्हाल्नु पर्ने बाध्यता छ , यही अफ्ठ्यारोबीच पनि जसरी भए पनि संघर्ष गरेर अगाडि बढ्न आवश्यक छ,’ उनी भन्छिन् ।

समय र समाज परिवर्तन भएको भन्दै उनी हरेकले आफूमा परिवर्तन ल्याउनु पर्ने उनी बताउँछिन् । ‘हामीभन्दा अगाडिको पुस्ता अर्कै थियो, उहाँहरुको बाध्यता अर्कै थियो तर हामी पनि त्यही रूपमा जीवन व्यतित गर्नुहुन्न, समस्यासँग जुधेरै भएपनि हामी पछिको पुस्ताको लागि राम्रो सिकाइ बन्न जरुरी छ, ’ उनी भन्छिन् ।

हरेक सफल व्यक्तिका पछाडि परिवारको साथ र सहयोग अनिवार्य रहेको उनको भनाइ छ । आफूले माइतीमा होस् या घर अहिलेसम्म उत्तिकै साथ र सहयोग पाउँदै आएको उनको अनुभव छ ।

‘शिक्षित र जागिरे परिवार भएको कारण मलाई माइतीमा पनि कुनै काम गर्नको लागि बन्देज लगाउनु भएन । बिहेपछि पनि घरमा गरिने व्यवहारमा उत्तिकै स्वतन्त्रता थियो,’ उनी सम्झिन्छिन्,  ‘बिहे पछि घरमा दाई (जेठाजु)ले निजामती जागिरे होस् भन्ने चाहानाका साथ तिमी लोकसेवा पढ्न जाउ विहानको खाना म बनाउँछु भनेर मलाई लोकसेवाको क्लासको लागि भर्ना नै गरिदिनु भएको थियो ।’

उनले केही महिना लोकसेवाको तयारी पनि गरिन् तर उनलाई त्यसतर्फ त्यति रुचि पनि लागेन र श्रीमानलाई व्यवसायमा सहयोगको खाँचो पनि भएको कारण उनी व्यवसाय तिरै लागिन् । ‘मलाई घरमा सबै परिवारले अहिले पनि उत्तिकै साथ र सहयोग दिँदै आउनु भएको छ । व्यवसायमा सफलताको लागि परिवारको साथ र सहयोगको एकदमै जरुरी पर्छ,’ उनी भन्छिन् ।

उनी काम गर्दै गएपछि हरेर कामको सहज व्यवस्थापन हुने बताउँछिन् । अहिले उनले बढी समय कन्सल्टेन्सीलाई दिएकी छिन् । उनका श्रीमान् दिपकराज भुसाल नेपाल शैक्षिक परामर्श संघका महासचिव समेत छन् । संस्थागत काम र अन्य व्यवसाय हेरिरहेका उनी उतै बढी व्यस्त हुन्छन् । व्यवसायमा श्रीमानको पर्याप्त साथ पाएको कारण महिला भएकै कारण व्यवसायमा अफ्ठ्यारो पर्र्यो भनेर भोग्नु नपरेको उनको अनुभव छ । तर काममा गरिने विश्वास महिला भन्दा पुरुषलाई गरेको पाएको उनी बताउँछिन् ।

ईन्लाइटन  एजुकेशनको सेक्टरमा काम गर्ने भएको कारण यो क्षेत्र धेरै राम्रो र सफल क्षेत्रको रूपमा यसलाई हेरेको उनी बताउँछिन् । धेरै सम्भावना भएर पनि यो क्षेत्रबाट राज्यले फाइदा लिन नसेकेको उनको भनाइ छ । ‘राज्यले विदेशमा पढेका विद्यार्थीलाई नेपालमै अवसरको सृजना गर्नुपर्छ भने अर्को तिर नेपालमा पढाइने पाठ्यक्रम पुरानोशैलीको छ,’ उनी भन्छिन्, ‘समय र नेपालको माटो सुहाउँदो पाठ्यक्रमको विकास गर्न राज्यले पहल गर्नुपर्छ । विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालका विभिन्न क्षेत्रमा लगाउन सके त्यसबाट धेरै फाइदा उठान सक्ने सम्भावना पनि छ तर त्यसको लागि त्यस्तै खालको नीति र राज्यको अग्रसरता आवश्यक छ ।’

उनले व्यवस्थापन हेर्दै आएको संस्था ईन्लाइटन ईन्टरनेशनल एजुकेशन २००९ मा स्थापना भएको हो । ईन्लाइटनले स्थापना कालदेखि नै युके, युएसए, न्युजिल्याण्ड, अष्ट्रेलिया, क्यानडा, जापानलाई लक्षित गरेर परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । ‘ईन्लाइटनको परामर्श क्षेत्रमा लामो इतिहास बनिसकेको छ । कैयौं विद्यार्थीलाई हामीले सही परामर्श दिएर उनीहरुलाई सेटल्मेन्टमा सहयोग गर्दै आएका पनि छौं,’ उनी भन्छिन्, ‘हामी काउन्सिलिङमा पनि अन्तरराष्ट्रिय मान्यता प्राप्त छौं । हामीले विद्यार्थीको अवस्था र आवश्यकताको आधारमा गाइड गर्छौं । हामीले हाम्रो अनुभवलाई विद्यार्थीको भविश्यलाई जोड्ने काम गर्छौं ।’

 

 

Tags: