‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’ सेफ घिसिङलाई

Image

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपलीज सेफ्स सोसाइटी यूकेले रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  हौसला स्वरुप स्थापना गरेको यसवर्षको ‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’  युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ ।

कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना, लोक परिकार अनुसन्धान संकलकसहित १०१  दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गरेका हुन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत छन्।

संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गरे।

एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो ।

यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ । संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा ( हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहेका छन्।

 

Tags: