२९ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङमा दीप प्रज्वलन सहितको उत्सव

Image

स्याङ्जा – नेकपा स्याङ्जा  र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा वालिङ बजारमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सहितको कोण सभा कार्यक्रम सम्पन्न गरेको छन् । निरङकुस राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरुको सचेत पहलमा सुरुवात गरिएको ऐतिहासिक जनयुद्ध थालनी गरिएको दिन फाल्गुन १ गते संस्मरण र सम्मानमा आयोजना गरिएको २९ औं जनयुद्ध  दिवसको अवसरमा वालिङ मोडमा २९ वटा दिप बालेर अबिर उत्सव सहित उत्साहजनक ढंगले जनयुद्ध दिवस मनाईएको छ ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनयुद्धलाई अपव्याख्या गरी अपराधीकरण गर्ने छूट कसैलाई नभएको बताएका छन् । अभुतपूर्व जनताको सहभागीतामा चलेको संघर्ष र त्यसबाट प्राप्त राजनीतिक उपलब्धिबाट स्थापित भएको सविधानसभामा केही अपूर्ण भएको बताउदै डुम्रेले जनयुद्ध सम्बन्धी अदालतको आदेशमा भने कैफियत देखिएको जिकिर गरे । जनयुद्धको जगमा बनेको सविधानसभाबाट तय भएको व्यवस्थापिका र कार्यपालिका मान्ने अदालतले जनयुद्ध मान्नु पर्दैन भन्नू पूर्वाग्रहको पराकाष्ठा भएको समेत बताए । केही माओवादी नेताहरू बदनाम भए त्यो साचो हो तर तुलनात्मक हिसाबले काङ्ग्रेस एमाले भन्दा माओवादी नेताहरू ईमानदार भएको समेत दाबी गरे ।

‘माइतीघरमा सार्वजनिक सुनुवाइ राखौं काङ्ग्रेस,एमाले र माओवादी नेताहरू मध्य कुन दलका बढी बदमाश र भ्रष्ट छन् छर्लंग हुन्छ,आउनुस् खुल्ला बहस गरौं,’डुम्रेले भने । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम रेग्मीले जनयुद्ध नेपाली जनताको पूँजी भएको बताए । त्यस्तै  माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य लक्ष्मी रानाले सबै माओवादी एकजुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रम नेकपाका जिल्ला ईन्चार्ज दुर्गा सि,पूर्वी जिल्ला सेक्रेटरी शिव सि,सेक्रेटरी ध्रुव सि,माओवादी केन्द्रका वालिङ् नगर अध्यक्ष चित्र तमु,नगर सचिव भक्त गोतामे,शिक्षक संगठनका नेता अमृत खनाल,वाईसियल नगर अध्यक्ष प्रकाश रिजाल  लगायतको सहभागिता थियो।

Tags: