सानो बजार स्टार्टअपका लागि सुखद

Image

नेपालमा केलाई ‘स्टार्टअप’ मान्ने भन्नेमा स्पष्टता छैन । तर नेपाल युवा उद्यमी मञ्चले पाँच वर्षभन्दा कम आयुका र सूचना प्रविधिमा आधारित उद्यमलाई स्टार्टअप मानेर वर्षैपिच्छे स्टार्टअप अवार्ड गर्दै आएको छ । अवार्डमा जे–जति कम्पनीले भाग लिइरहेका छन्, त्यसका आधारमा हामीसँग स्टार्टअपको एउटा खेस्रा तथ्यांक छ । तथ्यांककै अभाव रहेको देशमा हामीसँग भएको विवरण ठूलै पुँजी हो ।


सो तथ्यांक हेर्दा पछिल्लो समय नेपालमा स्टार्टअपको संख्या बढिरहेको देखिन्छ । उद्यमी मञ्चमा जोडिन आउने नयाँ सदस्य पनि थपिँदै गएका छन् । युवाहरुले नयाँ–नयाँ व्यावसायिक पहल गरेको देखिन्छ, डिजिटल वा प्रविधि क्षेत्रमा धेरैको चासो छ । सफ्टवेयर र एप्लिकेसन विकासमा लागेका हाम्रा कतिपय स्टार्टअप कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गरिरहेका छन् । विशेषतः प्रविधि क्षेत्रमा इन्नोभेटिभ काम भएका छन् ।

अहिले सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, शिक्षा–प्रविधि, वित्तीय–प्रविधिलगायत क्षेत्रमा स्टार्टअप कम्पनीहरुको वर्चस्व छ । लजिस्टिक्समा ‘उपाय’ जस्ता कम्पनी खुलेका छन् भने वीरगन्ज, बुटवल, विराटनगरलगायत सहरमा स्थानीय फुड डेलिभरी सेवा प्रदायकहरु सञ्चालनमा आइरहेका छन् । ई–कमर्समा पनि प्रशस्तै नयाँ स्टार्टअप कम्पनी दर्ता भइरहेको पाइन्छ । काठमाडौंमा स्टार्टअपलाई सघाउन मनग्गे बुट क्याम्प, एक्सिलेरेसन र स्केलिङका कार्यक्रमसँगै तालिम र सीप विकासका पहल भइरहेका छन् । कलेजहरुमा इन्क्युबेसन सेन्टर र इन्नोभेसन ल्याबहरु स्थापना भएको देखिन्छ ।    


यद्यपि, स्टार्टअपसम्बन्धी धेरैजसो गतिविधि काठमाडौंकेन्द्रित छन् । यहाँका युवालाई को–वर्किङ स्पेसदेखि एक्सिलरेसन कार्यक्रमबारे जानकारी छ । बाहिरी जिल्लामा चाहिँ स्टार्टअपभन्दा पनि उद्यमशीलताका प्रयास बढी देखिन्छन् । हामीकहाँ उद्यमशीलता र नवप्रवर्तनलाई एउटै मान्ने चलन छ, जुन सही होइन । यी विशुद्ध फरक विषय हुन् । नयाँ चिया पसल खोल्नु स्टार्टअप होइन, उद्यमशीलता हो । स्टार्टअप चाहिँ प्रविधिको प्रयोगमार्फत समाजमा विद्यमान समस्या समाधान गर्दै अर्थ आर्जनको पनि सम्भावना भएका नवउद्यम हुन् ।

सरकारले तयार पारेको राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९ को मस्यौदामा स्टार्टअप र उद्यमशीलतालाई उस्तै–उस्तै रुपमा देखाइएको छ । त्यो परिभाषा परिमार्जन गर्न र स्टार्टअपलाई लिएर सरकारको बुझाइ अलि परिष्कृत हुनुप¥यो, नियन्त्रणमुखी नीति बनाउनु भएन, त्यसमा प्रविधि र इन्नोभेसनलाई बढी जोड दिनुप¥यो, नेपालका उत्पादनको पेटेन्ट अधिकारको विषय समेटिनुप¥यो, १० वर्षसम्मका कम्पनीलाई स्टार्टअप मान्नुप¥यो भन्नेलगायत सुझाव हामीले सरकार एवं नीति निर्मातालाई दिएका छौं । यस विषयमा हाल सरकारले प्रदेशहरुबाट सुझाव संकलन गरिरहेको छ । नीति मात्रै नभएर स्टार्टअपसम्बन्धी कानुनसमेत छिट्टै बन्नुप¥यो भन्ने हाम्रो माग हो ।

समस्या

नेपालमा स्टार्टअपहरुको मुख्य समस्या भनेको व्यवसायको स्केल अप (आकार बढाउन) मा हुने गरेको छ । स्केल अप गर्दा वित्तीय सहायता चाहिन्छ, लगानीका लागि हाम्रा वैकल्पिक स्रोत त्यति विकसित छैनन् । वित्तीय सहायताका लागि हामी बैंकमै जानुपर्छ, त्यहाँको प्रक्रिया झन्झटिलो मात्रै होइन, बिनाधितो कर्जा पाइँदैन, बैंकले नयाँ कम्पनीलाई पत्याउँदा पनि पत्याउँदैनन् ।  
सुखको कुरा चाहिँ, पछिल्लो समय प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) जस्ता वैकल्पिक लगानीका स्रोत विस्तार हुन थालेका छन् । तर तिनको सहायता पाउन स्टार्टअपहरु आफैं पनि सक्षम भइसकेको हुनुपर्छ । हाम्रा स्टार्टअपहरुलाई लगानी प्राप्त गर्ने वा व्यवसायको आकार बढाउनेबारे ज्ञानको अभाव छ । पीईभीसीहरुले पनि अधिकांश स्टार्टअपलाई आवश्यक साना लगानीभन्दा एकैचोटि ठूला लगानीका अवसरमा बढी चासो देखाउने गरेका छन् । नेपालमा लगानीकर्ताको चाहना स्टार्टअपले बुझिरहेका, लगानीकर्ताले पनि स्टार्टअपलाई बीउ पुँजी दिनुभन्दा ठूलो लगानी गरेर नाफा कमाउन सजिलो मानेका छन् । यसले गर्दा दुईबीच ‘ग्याप’ देखिन्छ ।

स्टार्टअपलाई ऋण र अन्य सहुलियत सुविधा दिने भनेर सरकारले बारम्बार घोषणा गर्ने भए पनि त्यसको कार्यान्वयन फितलो छ । यस्ता सुविधा लिन कर्मचारीतन्त्रमा विद्यमान ढिलासुस्ती र अस्पष्टता बाधक छन् । नेपालमा सरकार र निजी क्षेत्र दुवैसँग कुनै पनि किसिमको गतिलो तथ्यांक छैन । तथ्यांकै नभएपछि नयाँ व्यवसाय गर्न, व्यसायसम्बन्धी आइडिया सिर्जना गर्न वा व्यवसाय विस्तार गर्न सहज हुँदैन । हामीहरु मिडियामा आएका समाचारमा उल्लिखित तथ्यांक र कहिलेकाहीँ त अनुमानको भरमा बजारको आकार निर्धारण गरेर वस्तु तथा सेवा उत्पादन गर्दै आएका र्छौं । वास्तविक माग र उत्पादनबीच अक्सर मेल नखाने समस्या छ ।  

नीतिगत समस्या भनेको चाहिँ स्टार्टसम्बन्धी कानुनको अभाव नै प्रमुख हो । कानुन नभएकाले स्टार्टअपको परिभाषा छैन, नयाँ रेस्टुरेन्ट वा नयाँ प्रविधि कम्पनी दुवैले आफूलाई स्टार्टअप हुँ भन्दै सहुलियतलगायतमा दाबी पेस गर्दा वास्तविक स्टार्टअपलाई मर्का परेको छ । विशिष्ट कानुन नहुँदा स्टार्टअपले दर्ता, नवीकरणलगायत प्रक्रियामा अन्य कम्पनीकै बाटो जानुपर्छ । स्थापित वा ठूला उद्योगी र भर्खर कलेज पढ्दै गरेका युवा उद्यमीलाई एउटै व्यवहार गरिएकाले नवउद्यमीहरु दर्ता प्रक्रियाबाटै तर्सिएर भाग्ने गरेका छन् ।

कम्पनी दर्ताका लागि वडा कार्यालय, नगरपालिका, कम्पनी रजिस्ट्रार, कर कार्यालयलगायत अनेकौं निकाय धाउनुपर्छ । कुनै एउटा विद्यार्थीले कम्पनी वा स्टार्टअप सुरु गर्नु भनेको बजारले उसको आइडिया स्वीकार गर्छ÷गर्दैन भनेर परीक्षण गर्नु पनि हो । उसलाई सुरुमै दर्तासम्बन्धी यति लामो प्रक्रिया हुँदै कर, अडिट, कानुनी शुल्कका विषयमा दौडाउँदा ऊ आत्तिइसक्छ । अझ, एक÷दुई वर्षपछि उसको स्टार्टअप माथि उठ्नै सकेन भने त्यसलाई बन्द गर्न अर्को हैरानी हुन्छ । नेपालमा बिजनेसबाट एक्जिट हुने व्यवस्थासमेत छैन ।

स्टार्टअप सुरु गर्न जति समस्या छ, सुरु गरिसकेपछि कम्पनी चलेन भने के गर्ने वा त्यसबाट कसरी बाहिरिने भन्नेमा झनै अस्पष्टता छ । स्टार्टअपलाई वित्तीय पहुँचका अवसर कम छन्, करमा सहुलियत छैन । यसले गर्दा नेपालमा असफल स्टार्टअपको संख्या बढी छ । हुन त विश्वमै ९० प्रतिनशत स्टार्टअप फेल हुन्छन् भनिन्छ । नेपालमा दक्ष जनशक्तिको अभावदेखि यस्ता नीतिगत र व्यावहारिक चुनौतीका चाङले गर्दा धेरैजसो स्टार्टअप जाग्नै नपाई मरेका छन् ।  

धेरैले नेपालमा जागिरै छैन भन्छन् । तर कम्पनीहरुले दक्ष जनशक्ति नपाएर हैरानी खेप्नुपरेको छ । मेरै हिमालय ब्याम्बो कम्पनीमा फर्निचर बनाउने मान्छे फेला पार्न र उनीहरुलाई टिकाइरहन मुस्किल छ । नेपालमा कामदार नपाएर भारतबाट ल्याउनुपरेको छ । नेपालको समग्र फर्निचर उद्योग स्थानीय कामदारको अभाव र भारतका आप्रवासी कामदारको भरमा चलिरहेको छ । मेरो बुझाइमा, नेपालमा रोजगारीका अवसर नभएका होइनन् । तर उद्योगले खोजेको जनशक्ति र नेपालमा उत्पादन भइरहेका जनशक्तिको सीप भने मिलिरहेको छैन । यसले गर्दा काम खोज्नेले काम पाएको छैन, जनशक्ति खोज्नेले जनशक्ति ।  

काठमाडौं बाहिरको स्टार्टअप माहोल अझै निराशाजनक छ । स्टार्टअप संस्कृति काठमाडौंबाहिर पुग्नै सकेको छैन । त्यहाँ स्टार्टअपसम्बन्धी कुनै पनि कार्यक्रम गर्दा सुरुमा त इन्नोभेसन वा स्टार्टअप भनेको के हो भनेर बुझाउनुपर्ने हुन्छ । जुनसुकै नयाँ व्यवसाय स्टार्टअप होइन भन्नेबाट कुरा सुरु गर्नुपर्छ । तर हरेक ठाउँमा स्टार्टअप कम्पनी हुनैपर्छ भन्ने छैन, उद्यमशील मानसिकता चाहिँ चाहिन्छ । उद्यम विकास भए मात्रै त्यो ठाउँको आर्थिक गतिविधि चलायमान बन्छ ।  

नेपालमा महिला नवउद्यमीलाई अतिरिक्त चुनौती छ । महिलाले काम गर्ने अवधि पुरुषको भन्दा कम हुने भएकाले उनीहरु उद्यमशीलतामा टिकिरहन सक्दैनन्, कि त बिहेअघि वा बिहेपछि काम गर्नुपरिरहेको छ । महिलालाई व्यवसायमा जोखिम मोल्न वा एक÷दुई व्यवसाय असफल हुँदा अर्को व्यवसाय गर्न प्रोत्साहन गरिँदैन । जब कि पुरुषहरुले तुलनात्मक रुपमा यो अवसर पाउँछन् । चार–पाँच वटै व्यवसाय अफसल हुँदासमेत पुरुषलाई नयाँ ट्राई गर्न निरुत्साहित गरिँदैन । तर महिलाले सञ्चालन गरेको एउटा मात्रै कम्पनी चलेन भने उसलाई व्यवसाय छाडेर जागिर खानतिर लाग्न दबाब आइहाल्छ ।      

संकटमोचन

नेपालमा अनेकौं समस्याबीच पनि स्टार्टअप र व्यवसाय राम्रै संख्यामा सञ्चालन भएको देख्दा कहिलेकाहीँ त मलाई जादु नै भइरहेको छ कि जस्तो लाग्छ । यद्यपि, अहिले समग्र आर्थिक मन्दीका कारण अलि बढी जटिलता देखिएको हो । सामान्य अवस्थामा त नेपालको स्टार्टअप क्षेत्र सुधारकै बाटोमा हिँडिरहेको थियो । पछिल्लो समय स्टार्टअपहरुलाई स्रोत जुटाइदिने वैकल्पिक लगानीका माध्यम थपिँदै गएका छन् । प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फार्मसँगै ठुल्ठूल्ला कम्पनीले पनि कतिपय स्टार्टअपमा लगानी गर्न थाल्नु सुखद पक्ष हो, यो अझै विस्तार हुने निश्चित छ ।

विभिन्न स्कुल÷कलेजहरुले उद्योग, प्राज्ञिक क्षेत्र र स्टार्टअपहरुलाई आपसमा जोड्न विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गर्न थालेका छन् । यसले स्टार्टअपका आइडिया, प्रोडक्ट र सर्भिसहरुको प्रचारप्रसारमा राम्रै सघाएको छ । स्टार्टअपलाई मेन्टर र इन्भेस्टरसँग जोड्ने यस्ता प्लाटफर्मको संख्या अझै बढाउँदै लग्नुपर्छ, त्यसका लागि निजी क्षेत्र र सरकारले पनि चासो देखाइरहेको हुँदा हामी आशावादी बन्न सक्छौं । सञ्चारमन्त्रीले विभिन्न अन्तर्वार्ताहरुमा नेपालमा बृहत् आईटी प्रदर्शनी गर्नेबारे बताउँदै आएका छन् ।   

स्टार्टअपसम्बन्धी कानुन बन्ने प्रक्रियामा रहेकाले त्यसले आगामी दिनमा यो क्षेत्रलाई दिशानिर्देश, व्यवस्थित र सहजीकरण गर्ने सम्भावना छ । कानुन बनेपछि पीईभीसीको वातावरण निर्माण र इकोसिस्टम तयार हुन सहयोग मिल्छ ।

स्टार्टअप क्षेत्रलाई बलियो बनाउन हामीले हाम्रा शैक्षिक संस्थाहरुलाई पनि बलियो बनाउनुपर्छ । किनभने वास्तविक इन्नोभेसन त्यहीँबाट आउने हो । शैक्षिक संस्थाहरुले रिसर्च एन्ड डेभलपमेन्टका काम गर्न सक्छन् । विश्वविद्यालयका विद्यार्थीले नयाँ–नयाँ इन्नोभेसन, विभिन्न प्रकारका प्रोटोटाइप वा प्रोडक्ट बनाउन थाले भने उनीहरुका काम बजारमा बिक्छन्÷बिक्दैनन्, समाजलाई चाहिएको छ÷छैन भनेर प्रोफेसर, मेन्टरहरुले औंल्याइदिन्छन् । त्यसकारण शैक्षिक क्षेत्रलाई इन्नोभेसन र आन्टरप्रेनरसिपमा सशक्त बनाउन आवश्यक छ । रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा स्टार्टअपहरुलाई पनि अवसर र प्रशस्त सम्भावना छ ।  

नेपालका दक्ष जनशक्ति, उनीहरुका इन्नोभेटिभ आइडिया र यहाँ उत्पादित वस्तु तथा सेवा विदेशमा बिक्छन् भन्ने कुराको पुष्टि सूचना प्रविधि सेवाको निर्यातसम्बन्धी आकर्षक तथ्यांकले देखाइसकेको छ । तसर्थ अब सरकारले नेपालका पृथक् एवं निर्यातको सम्भावना रहेका वस्तु तथा सेवाको पहिचान गरेर व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि÷सम्झौताअनुरूप जहाँ–जहाँ मिल्छ, त्यहाँ निर्यातका लागि पहल थाल्नुपर्छ । कुन प्रोडक्ट निर्यातका लागि सक्षम अवस्थामा पुगेको छ, कहाँ–कहाँ त्यसको माग छ भन्ने पहिल्याउनुपर्छ ।

दक्षिण कोरियाको निर्यातसम्बन्धी विभागले बेला–बेलामा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन आयोजना गरेर ‘हाम्रा कम्पनीहरुले यस्ता–यस्ता वस्तु तथा सेवा उत्पादन गरेका छन्, के तपाईंहरु यिनमा लगानी गर्न वा उत्पादन खरिद गर्न इच्छुक हुनुहुन्छ ?’ भनेर अवगत गर्ने गरेको छ । निजी क्षेत्रले तयार पारेका प्रोडक्ट अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन हाम्रो सरकारले पनि यस्ता गतिविधि सञ्चालन गर्नुपर्छ ।
उद्यमशीलता क्षेत्रमा वैदेशिक लगानीको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीकहाँ पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा आउटसोर्सिङ र इन–सोर्सिङ दुवैतर्फ राम्रो सम्भावना देखिएको छ । तसर्थ सूचना प्रविधि क्षेत्रमा लगानी गर्न चाहने विदेशी लगानीकर्ता बढ्ने सम्भावना प्रचुर छ । यस्तोमा एफडीआई भित्र्याउने प्रक्रियागत झन्झट छोट्याउन, सकेसक्म धेरै देशसँग दोहोरो करमुक्ति सम्झौता गर्न र एकद्वार नीति कार्यान्वयन गर्न सरकारले तदारुकता देखाउनुपर्छ ।

हालको जटिल आर्थिक अवस्था पार गर्न निजी क्षेत्र एकजुट हुनुपर्छ । अहिले हामी सबै विभाजित भएकाले सरकारले पनि कसको मात्रै कुरा सुन्ने ! नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, युवा उद्यमी मञ्च जस्ता निकाय एकत्रित भएर अघि बढे यस्ता आर्थिक संटक झेल्न सामूहिक बल मात्र हुन्छ । सबैको एकमुस्ट पहलले साना, ठूला, मझौला, नवउद्यमी सबैको उत्थानमा सघाउ पुग्छ ।  साथै ठुल्ठूला कम्पनीले स्टार्टअपलाई वित्तीयसँगै मेन्टरसिपमा सहयोग गर्नुपर्छ ।

पर्यटन क्षेत्रमा थेरैथोक गर्न बाँकी भएकाले स्टार्टअपका लागि यसमा स्कोप छ । हरित पर्यटन, दिगो पर्यटनका क्षेत्रमा इन्नोभेटिभ आइडियाको खाँचो छ । प्रविधि क्षेत्रमा त नेपालीहरुले अहिले नै अमेरिकी, जर्मनी, फ्रेन्च कम्पनीहरुका लागि एप्लिकेसन र सफ्टवेयर बनाइरहेका छन् । यसमा सरकारले थोरै मात्र सहजीकरणको पहल थाल्नासाथ यो क्षेत्र अझै झाङ्गिनेवाला छ ।
स्टार्टअपकै रुपमा सुरु भएको ई–सेवा हाल नेपालको एउटा प्रमुख वित्तीय–प्रविधि कम्पनी बनेको छ । समाज र बजार बुझेर सुरु गरेको स्टार्टअप कतिसम्म सफल हुन सक्छ भन्ने यो एउटा उदहारण पनि हो । यस्ता उदहारणीय पहल र सफल उद्यमीहरुबारे जानकारी दिन उद्यमी मञ्च जस्ता संस्थाले नेटवर्किङ र लर्निङ कार्यक्रम गर्दै आएका छन् । युवाहरुले यहाँ पनि सम्भावना छ, राम्रा काम भइरहेका छन् भन्ने बुझ्न पाएका छन् भन्ने लाग्छ ।

म आफैं पनि अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्किएर उद्यशीलता क्षेत्रमा लागेको आठ वर्ष भइसक्यो । यहाँ अवसर र सम्भावना देखेरै टिकिरहेकी छु र यहीँ अघि बढ्ने योजना छ । नेपाली समाज पक्कै थुप्रै समस्याबाट गुज्रिरहेको छ । तर उद्यमीका दृष्टिले हेर्दा समाजमा जति धेरै समस्या भयो, उति धेरै समस्या समाधान गर्ने अवसर हुन्छन् । समाधान गर्ने तरिका भनेको उद्यमशीलता नै हो । मैले यहाँ समस्या देखें र तिनलाई समाधान गर्ने अवसर पनि छन् भन्ने बुझेपछि विभिन्न पहल गर्दै आएकी छु । स्टार्टअप कम्पनीका रुपमा पछिल्लो समय महिलाकेन्द्रित ई–कमर्स प्लाटफर्म, तभिसी नेपाल डटकम सञ्चालनमा गर्दै आएकी छु ।

नेपालको समग्र स्टार्टअप र उद्यमशीलता क्षेत्र पुरुषप्रधान भए पनि पछिल्लो समय विभिन्न सहयोगी निकायहरुले महिलालाई प्रोत्साहन गर्न थालेका छन् । नीतिगत रुपमा पनि उद्यमशीलता सञ्चालन गर्न कुनै किसिमको लंैगिक विभेद छैन, उल्टै सरकारले महिला उद्यमीलाई कर्जा सुविधा र सहुलियत दिँदै आएको छ । यसले वित्तीय पहुँच प्राप्त गर्न महिलालाई केही न केही सहज बनाइदिएको छ । तर कर्जा लिन जाँदा बुबा र श्रीमान्को समेत बैंक ग्यारेन्टी माग्ने चलन छ, यसमा सुधार चाहिएको छ ।

हिजोआज जुनसुकै क्षेत्रमा पनि लैंगिक समावेशिता र महिलालाई अगाडि बढाउनुपर्छ भन्ने भावना विकास भइरहेकाले लगनशील भएर लाग्नेलाई स्टार्टअप वा व्यवसाय गर्न गाह्रो छैन । नेपालमा सानै पहलले ठूलो प्रभाव पार्न सक्छ । राम्रो कामको चौतर्फी प्रशंसा हुन्छ । यस हिसाबले हेर्दा बजार सानो हुनु पनि नेपाली स्टार्टअप र व्यवसायीलाई फाइदाकै कुरा हो । कुनै प्रोडक्टको ब्रान्डिङ वा मार्केटिङ गर्न सानो बजारमा सहज हुन्छ । राम्रो प्रोडक्ट बनाउन सक्यो भने कहिलेकाहीँ मौखिक प्रचार नै पर्याप्त भइदिन्छ । नेपालका यिनै विशिष्ट कुराहरु स्टार्टअप सञ्चालन गर्नलाई सहयोगी पक्ष हुन् ।

– जोशी नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष हुन् । (नेपाल आर्थिक पत्रकार समाज–सेजनको स्मारिका ‘अर्थनीति’बाट)

 

Tags: