समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः कस्ले के भने ? 

Image

काठमाडौं– समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि पत्रकार महिलाको नेतृत्व हुनुपर्ने आवाज उठेको छ ।  ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा  प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजनामा आज आयोजना गरेको समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । 

सञ्चारिका समूहकी पूर्वअध्यक्ष समेत रहेकी पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले रहेक ठाउँमा उप राख्ने चलनको अन्त्य गर्नुपर्ने भन्दै समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तह र सरोकारवाला निकायमा पनि महिलाले नेतृत्व गर्ने अवस्था सिर्जना गर्न एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले नयाँ पुस्ताका महिलाहरुलाई आकर्षित गर्न नसक्ने हो भने आगामी दिनमा पत्रकार महिलाहरुको उपस्थिति झन कमजोर बन्ने संकेत गरिन्। 
उनले पछिल्लो समय सञ्चारगृहहरुबाट पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा समेत सेवाबाट निकालिएका खवरहरु प्राप्त भएको भन्दै त्यो गलत भएको उल्लेख गरिन् । ‘हामीले त्यस्ता विषयमा आवाज उठाउन एउटा ‘लुज नेटवर्क’ बनाएर ज्ञापनपत्र दिने, दबाब दिने काम गर्नुपर्छ,’ शर्माले भनिन्, ‘सङ्घर्ष जहाँ पनि छ । हामी आफैँ पनि सक्षम बन्न निरन्तर लाग्नुपर्छ ।’ शर्माले आफुले पत्रकारिता क्षेत्रमा गरेका संघर्षको इतिहास उल्लेख गर्दै  आवाज विहिनहरुका आवाजले आफूलाई बलियो बनाएको उल्लेख गरिन् ।  

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल नेतृत्व तहमा पत्रकार महिलालाई पुर्याउने कुरामा अन्य संगठनको तुलनामा अघि रहेको उल्लेख गरे । ‘अघिल्लो पटक हामीले पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि महिलालाई अघि सारेका थियौँ,’ उनले भने, ‘अहिले पनि महासंघको नेतृत्वमा महिला उठाउन हामी तयार छौं ।’

महासंघकी उपाध्यक्ष बाला अधिकारीले अहिले शुद्धीकरणमा महिला बढी परेको भन्ने गुनासो आएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्तिम नामावली प्राप्त भएपछि त्यसलाई गम्भीर रुपमा समीक्षा गरेर मात्रै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘हामी अधिकारका लागि लड्न तयार छौँ, हाम्रा अधिकार अझै पूरा भएका छैनन्,’ उनले भनिन्, ‘कसरी पत्रकार महिलालाई  नेतृत्वमा पुर्याउन सकिन्छ भनेर हामीले बहस गर्दै आएका छौँ । हामीले पत्रकारितामा पत्रकार महिलालाई टिकाउने र बिकाउने बनाउनु पनि चुनौती छ । त्योसँगै समाचार कक्षमा हुने हिंसा न्युनिकरण त्यत्तिकै आवश्यक छ ।’ उनले महिलाले महिलाको नेतृत्व स्वीकार गर्न नसक्दा पनि समस्या भएको उल्लेख गरिन् । ‘हामी जाति, वर्ग भन्दा पार्टी भन्दा माथि उठ्नुपर्छ,’ उनले भनिन् ।  

प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले महासंघले सुत्केरी विदामा बसेका महिलालाई निस्कृय भनेर शुद्धीकरणमा परेको विषय गम्भीर भएको उल्लेख गरे । समाचार कक्षामा महिला नेतृत्व नहुँदा वाइलाइन पनि कम भएको भन्दै त्यसले नेतृत्व तहमा पुग्न पनि समस्या भएको उल्लेख गरे ।  उनले त्यो पुरुषवादी चिन्तनले मात्रै नभएको पनि उल्लेख गरे । महिला हुन भन्दा महिलावादी हुन मुस्किल छ । अझ महिलाका पक्षमा बोल्दा झन मुस्किल छ,’ उनले भने, ‘महिलामैत्री पुरुषको पनि आवश्यक छ । कार्यकारी भुमिकामा महिला अहिलेको आवश्यकता हो ।’ 


सञ्चारिका समूहकी अध्यष विमला तुम्खेवाले हाम्रो समाचार कक्ष कतिको समावेशी छ भन्दै त्यो महत्त्वपूर्ण भएको उल्लेख गरिन् ।  ‘हामीसँग नीति छ नीति कार्यान्वयनमा लागौं,’ उनले भनिन्, ‘शुद्धीकरणको विषयमा कुरा उठाउनुपर्छ । दुईचार जना पत्रकारबाट हामी हजारौंमा छौं अब नेतृत्व तहमा पुग्नुपर्छ । प्राविधिक पक्षबाट पनि अपडेट गर्नुपर्ने छ । यो विषयमा पनि ख्याल गर्नुपर्छ । विश्व मानचित्रमा थोप्ला जत्रो नेपालमा साझा एजेन्डा बनाएर महिलालाई नेतृत्व दिने कुरामा ध्यान दिएर अघि बढौं ।’ 

सञ्चारिका समूहकी पूर्व अध्यक्ष नितु पण्डितले आशावादी कुरा गरौं भन्दै अहिले अहिले करीब २५ प्रतिशत पत्रकार महिलाको संख्या हुनु सकारात्मक उल्लेख गरिन् ।  ‘नेतृत्वको कुरा गर्दा सम्पादकको संख्या बढेको छ । तर, मुलधारका मिडिया र सरकारले सञ्चालन गर्ने मिडियामा महिला नेतृत्व नहुनु दुखद् छ,’ उनले भनिन्, ‘समाचार कक्षमा महिला भन्ने कुराको विकास भएको छ । अब यतिमा चित्त नबुझाउँ। हामी नेतृत्वमा जाने प्रयास गरौं । सुत्केरी विदा ऐनमा छ  तर कार्यान्वयन किन भएन ? छोरी होइन बुहारी पत्रकारिता भनिन्छ, आमा पत्रकारिता पनि हुन्छ भनेर हामी अघि बढौँ ।’
 उनले बच्चा पाएपछि कार्यमुल्याङ्कन कमजोर हुने भनेर निकाल्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिइन् । त्यसका लागि नीतिगत पहल आवश्यक रहेको उल्लेख गरिन्। ‘महासंघमा उपाध्यक्ष चाहिन्छ भनेर अध्यक्षमा बन्देज गरेको होइन,’ उनले भनिन्, ‘अब यो परम्पराको अन्त्य गर्नुपर्छ र नेतृत्वमा सामूहिक दाबी गर्नुपर्छ ।’  

प्रेस काउन्सिलका पूर्व सदस्य सुभेक्षा विन्दुले समस्याको पहाड आयो भनेर डराउने होइन त्यसको समाधान पनि हुन्छ भन्दै समाधानमा तयार हुनुपर्नेमा जोड दिइन् । ‘हामीले नेतृत्व तहले गर्ने भन्दा बढी गरेका छौं । तर, नेतृत्वमा  पुग्नु मुस्किल छ, ’ उनले  प्रश्न गरिन्, ‘नेतृत्वमा पुर्याउन समस्या किन हुन्छ ? हामीले समस्या बताउने मात्रै होइन समाधान पनि खोजौं ३० वर्षदेखि काम गरेकाले निरासा होइन आशावादी बनौं । पलायन रोक्न लागौं । नीति निर्माण तहमा पनि हामीले लैजानुपर्छ । पेशामा आएपछि पेशागत रुपमा अघि बढ्ने हो भने म महिला हुँ भन्ने हटाउनुपर्छ । पारिवारिक समस्या गौण हुन् ।’ 

उनले सम्पादकको जिम्मेवारी किन पाइएन ? भन्ने भन्दा पनि क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘समाचार बाचनमा अनुहार देखाउन मात्रै दिइने चलनको अन्त्य भएको छ,’ उनले भनिन्, ‘हामीले थप हस्तक्षेप गर्नुपर्छ ।’ सञ्चारिका समूहकी उपाध्यक्ष पवित्रा सुनुवारले विकसित देशमा विदा दिएर सुत्केरी विदा दिने चलन रहेको भन्दै  यहाँ सुत्केरी अवस्थामा जागिरबाट हटाउने कुरा गलत भएको उल्लेख गरिन् ।  ‘हामी सक्षम छौं तर हामीलाई कमजोर देखाइन्छ । नेतृत्वमा जानेबेला झन कठिन छ,’ उनले भनिन्, ‘अवसमा होस या समाचार कक्ष अथवा असमान ज्याला यी सबैको अन्त्य आवश्यक छ ।’ 

समाजवादी प्रेस संगठनकी उपाध्यक्ष अस्मिता गिरीले समाचार कक्षमा मात्रै होइन महासंघलगायतका निकायमा पनि महिलाको नेतृत्वकोको माग गरिन् ।  ‘महिला भएकै कारण खोज पत्रकारिता गर्न सक्दैनन् भाष्य चिर्न जरुरी छ,’ उनले भनिन्, ‘सुत्केरी भएको अवस्थामा जागिरबाट निकाल्ने कुरा गलत छ ।’ उनले पत्रकार महासंघको निर्वाचन नजिक आएको भन्दै महिलालाई नेतृत्वमा पुर्याउ पत्रकार महिला पार्टी र संगठन भन्दा माथि उठेर एक हुनुपर्नेमा जोड दिइन् । 

सञ्चारकर्मी रुवि रौनियारले महिला विस्थापित हुने कुरा गलत भएको भन्दै । ठूलो मिडियामा विकराल अवस्था रहेको पनि उल्लेख गरिन् ।  ‘हाम्रा वाइलाइन पहिलो पृष्ठमा छापिन्छ तर मुल्यांकनमा हामीलाई पछि पारिन्छ ।’ उनले पहिला पत्रकार बचाउने अभियानमा लाग्न आग्रह गरिन् ।  सञ्चारकर्मी अम्विका दाहालले जागिर गुमाएपछि पेशामा फर्किन समस्या हुने भनदै सुत्केरी भएपछि विदा पाउनुपर्नेमा जोड दिइन् । शुद्धीकरण अभियानका नाममा अशुद्धिकरण भएको भन्दै आक्रोश व्यक्त गरिन्।  

सम्पादक कविता अधिकारीले नयाँ ल्याउने चुनौति छ भन्दै अनलाइन र युटुव मिडिया अघि बढेको उल्लेख गरिन् । ‘तर , हामीले नयाँलाई आकर्षित गर्ने र क्षमता विकासका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यक छ,’ उनले भनिन् । सञ्चारकर्मी सीता पोखरेलले क्षमता विकास गरौं भनिन् ।  
कार्यक्रम चौतारी उपाध्यक्ष देविका घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले महिला भएकै कारण सुत्केरी अवस्थामा पेशागत जिम्मेवारीवाट अलग हुनुपरेको पीडा व्यक्त गरिन् । गर्भअवस्था र सुत्केरी अवस्थालाई समाचार कक्षका पुरुषले बुझ्न नसक्नु दुर्भाग्य हो भन्दै उनले निरासा मात्रै बाँड्ने होइन आशा थपेर नयाँलाई  आकर्षित गरौँ भन्दै श्रमजिवि महिलाको हितमा सबै लाग्न आग्रह गरिन् ।
 

Tags: