सन्तान, समाज र सपना

Image

हाम्रा बच्चाहरू किन असफलताको बाटोमा छन् ? आजको एक्काइसौँ शताब्दीमा परिवार, समाज कता कता अप्रत्यासित दौडधुपमा छ । अझ भनौं हाम्रो समाज र मानसिकता प्रथम हुने दौडमा गएको छ। हरेक परिवारका बुवाआमाको चिन्ता के छ ? धेरैको चिन्ता छ, ‘मेरो छोरोको भविष्य मेरी छोरीको भविष्य कस्तो बनाउने ?’ बास्तवमा यो जायज र आवश्यक कुरा पनि हो तर जुन कुराको हामी चासो र चिन्ता लिएका छौं, त्यो कता कता बाटो बिराएको र बिच्किएको तथा अव्यवस्थित अवस्थामा छ ।

प्रसंग –१

जब जब परीक्षाको समय आउँछ विभिन्न शिक्षालयका शिक्षक, अभिभावकले सामाजिक सञ्जालमा निकै मेहनतका साथ केही कुराहरू लेख्नुभएको हुन्छ, वा सेयर गर्नुभएको देखिन्छ । अर्को तिर अभिभावकको अत्यास लाग्दो चिन्ता अस्वाभाविक रूपमा देखिन्छ । यसै सिलसिलामा मैले एक अभिभावक (जो हाल अमेरिकामा बस्नुहुन्छ )का कुरा जोड्न मन लाग्यो । उहाँका कक्षा ७ र ३ मा पढ्ने दुई छोरा छन् । उहाँसँग केही दिनअघि म कुराकानी गरेँ। उहाँले भन्नुभयो , ‘भाइ सबै कुरा ठिक छ तर एक कुराले सधै पिरोलिरहन्छ, ठूलो छोरा सिम्रन र कान्छो छोरा शङ्कर बिल्कुल पढ्न मन गर्दैनन्, सिम्रन खाली खेलतर्फ ध्यान दिन्छ। समय मिल्नासाथ खेल या खेलाडीको कुरा गर्छ, सानो छोरा कविता साहित्यतर्फ कुरा गरेर बस्छ ।’

दाजुको चिन्ता आफन्तका छोराछोरी जस्तो बनेनन् भन्नेमा रहेछ । दाजुले थप्नुभयो, ‘मेरा आफन्तका छोराछोरी कोही डाक्टर हुँदैछन्, कोही इन्जिनियर हुँदैछन् तर मलाई छोरा कुन बाटोमा जान्छन् भन्नेमा चिन्ता छ, बच्चालाई राम्रो गराउने भनेर यहाँ आएँ, पैसा मसँग छ, दुई छोरा डाक्टर इन्जिनियर बनाउने सपना छ तर म असफल हुने हुँ कि भन्ने ठूलो पिर छ।’

 प्रसङ्ग–२

केही दिन अघि एक शिक्षकले यस्तो पोस्ट गर्नुभयो
– छोराछोरीको परीक्षा चल्दैछ, घरमा वातावरण शान्त बनाउनुहोस्
– घरमा झैझगडा नगरौँ। टिभी मोबाइल नहेर्नुहोला।
– बच्चालाई समयमा सुताउने र बिहान छिट्टै उठाउनुहोस्।

 प्रसङ्ग– ३

मेरो एकजना मित्र हिजो मेरो अफिसमा आउनुभयो। उहाँले भन्नुभयो, ‘छोरी राम्रो पढोस् भनेर म बिहान ५ बजेको अर्लाम लगाउँछु। अनि जबरजस्त उठाएर पढ्न लगाउँछु।’ एकै पटकमा उहाँले आफ्नो सपनाको पोको फुकाउनुभयो, ‘मैले राम्रो पढ्न सकिन छोरीलाई जसरी नी नर्स बनाउँछु, त्यसका लागि म काठमाडौँमा रुम खोजेर उनलाई पढ्न लगाउँदैछु। मेरो सबै दाइको छोरी नर्स छन् म पनि जुन हालमा छोरीलाई नर्स बनाउँछु।’

तीन प्रसङ्ग सुनेपछि मेरा मनमा अनेक तर्कहरू खेल्न लागे। एक मनले सोचे, ‘बाबुआमाले आफ्ना सन्तान माथि कति भरोसा र सपना बोक्छन् ।’ अर्कोतिर सोंचे। ‘ओहो हाम्रो समाज कतातिर जाँदै,  हामी आफ्ना सपना आफूले पूरा गर्न नसकेपछि जबरजस्त आफ्ना बच्चामाथि थोपरेर उनीहरूलाई बर्बाद त गर्दै छैनौं ।’ वास्तवमा भन्नुपर्दा हामीहरू बच्चालाई बर्बादीको खाडलमा लैजाँदै छौं। प्रत्येक विद्यालयका प्रत्येक कक्षामा फस्ट, सेकेन्ड , थर्ड बनाउने प्रतिस्पर्धा छ र अभिभावकको अपेक्षा पनि त्यही नै छ । यसले हाम्रो बच्चाको जीवनमा के अर्थ बोक्छ अथवा हाम्रै जीवनमा यसले के अर्थ राख्छ ?

मानौँ कुनै कक्षामा ५० जना विद्यार्थी छन् । हर विद्यार्थीको सिकाइ संरचना, पारिवारिक पृष्ठभूमि, हुर्काइको वातावरण, ग्रहण गर्ने क्षमता, रुचिका विषय फरक फरक छन् । कसैसँग कसैको रूप मिल्दैन, बोली, भाषा मिल्दैन तर सबैलाई एउटै फ्रेममा हालेर हामीलाई एक जनालाई फस्ट बनाएर बाँकीलाई कमजोर करार गर्नुछ । बाँकी ४९ जना विद्यार्थीका घरका अभिभावकलाई आफ्ना छोराछोरी कामै नलाग्ने भएको भन्दै खिन्नता मात्र सृजना गर्ने काम भएको छ ।

परीक्षालाई छुट्याएको दुई–तीन घण्टा समयमा लेखेको नम्बरका आधारमा जीवनभर सबल वा कमजोरको मापन गराउन बिल्कुल गलत छ। दुई–तीन घण्टाको लेखाइले जीवन फेल वा पास गराउने भन्ने हुँदैन। यसले ४९ जना बच्चालाई इगो वा प्रतिस्पर्धीको भावमा दौडाउन मात्र सक्छ। जुन सरासर गलत छ, ४९ जना विद्यार्थी प्रथम हुन नसकेकोप्रति बुवाआमा पीडामा छन्।


प्रिय अभिभावक तथा विद्यालय शिक्षक वर्गसँग मेरो विनम्र आग्रह छ , तपाईंका सन्तार र विद्यार्थीलाई सफल बनाउन निम्न कुरामा ध्यान दिनुहोस् :


– कुनै कक्षामा प्रथम स्थान एकजनाको लागि मात्र राखिएको हुँदा ५० जना नै प्रथम हुन सक्दैनन्, तसर्थ प्रथम द्वितीय भन्ने स्थान नै नराखौं।
 – हर बच्चाको बनोट फरक छ, सोच फरक छ भने तपाईंका आफन्तको बच्चासँग आफ्नो बच्चालाई कहिले तुलना नगरौँ ।
– बाबुआमा आफूलाई डाक्टर इन्जिनियर नहुने वा नसक्ने तर जबरजस्त आफ्नो बच्चालाई इच्छा विपरीत त्यही बनोस भनेर सपना नथोपरौं ।
–  हरेक बच्चामा परमात्माले फरकफरक खालको बनोट संरचना दिएको हुन्छ। भने उसको पक्कै पनि फरक क्षमता छ भन्ने कुरा बुझ्नुहोस्।
– परीक्षामा ल्याउने नम्बरकै आधारमा सफल असफल तुलना नगरौँ।
 – अङ्कले जीवनका सबै सफलता असफलता नाप्न सक्दैन। बच्चालाई परीक्षा वा नम्बरसँग तुलना नगर्नुहोस्।
– परीक्षाका बेलामा दुई–तीन घण्टामा उसको मानसिक अवस्था वा वातावरण अथवा स्वास्थ्य अवस्थाले पनि परिणाम निर्धारण गर्छ।
– प्रथम हुने विद्यार्थीलाई सम्मान अरुलाई अपहेलना नगरौँ।
– हरेक बच्चामा भगवानको एक शक्ति छ, फरक क्षमता छ बरु उसको त्यो शक्ति चिन्नतिर लागौँ।
– बच्चालाई शिक्षकसँग वा परीक्षासँग डर नदेखाउ जीवनमा सबैभन्दा ठूलो पाप डर हो। डरले बच्चाको सिर्जना खतम बनाउँछ।
– अनुशासनका नाममा बच्चालाई मेसिन नबनाउँ, मेसिनले मात्र एकै प्रकारको उस्तै काम गर्छ तपाईंको बच्चा मेसिन होइन ।
– बच्चालाई इच्छा विपरीत वा बाआमाको इच्छा अनुसार पढ्न बाध्य नबनाउनुहोस्।
– विद्यालयमा अनावश्यक नियम बनाएर बच्चालाई मेसिन जस्तो नगराउनुहोस्।
– संसारमा हरेक प्राणी बोटबिरुवाको आफ्नै काम छ भने तपाईंको बच्चाको पनि आफ्नै काम छ भन्ने कुरा बुझ्नुहोस्।
– तपाईंले कहिले ख्याल गर्नुभएको छ, जब तपाईले आँपको रुख रोप्नुभयो भने त्यो रुपमा सुन्तला फल्दैन यो कुरा बुझ्नुहोस् ।
 
यसै सन्दर्भमा केही दृष्टान्त प्रस्तुत गर्न मन लाग्यो :

नेपाली प्रसिद्ध हास्यकलाकार हरिवंश आचार्यलाई उनका बुवाले हरिवंश आचार्यलाई शिक्षक बनाउने ठूलो सपना बोकेका थिए ।  बुवाको इच्छा अनुसार शिक्षक जस्तो बन्न उनी टोपी, चस्मा लगाएर हिँड्थे तर जब उनी बुवा घरमा नहुँदा घरको छतमा बाघ बनेर कराउँथे। सारा गाउँले बाघ आयो भनेर भगाउन हिँड्थे तर उनी मस्त सुत्थे। यदि हरिवंश जबरजस्त शिक्षक बन्ने लाइनमा लागेको भए उनलाई सायद यो समाजले शिक्षक हरिवंश आचार्य भनेर चिन्थ्यो तर संसारभर उनले कमाएको अहिलेको ख्याती सम्भव थिएन ।

चर्चित फुटबल खेलाडी रोनाल्डो, फुटबलको स्थानमा जबरजस्त डाक्टर बन्नतिर लागेको भए सायद संसारले उनलाई बिरलै चिन्थ्यो तर फुटबलमा समर्पित गरेर अहिले उनको सफलता हिसाब गर्न नसकिने स्थानमा छ।
 
सिएनएन हिरो पुष्पा बस्नेत उनी बीएसडब्ल्यू पढ्ने कलेजबाट अनुशासनहीन भनेर रेस्टिकेटमा परिन्। तर उनले मनबाट सोसल वर्क हटाइनन्। जेलमा हुर्किएका बच्चालाई पालनपोषणमा लागेर सीएनएन हिरोबाट सम्मानित भइन् ।


 
महात्मा गान्धी जहिले थर्ड डिभिजनमा पास भए तर भारतको स्वतन्त्रता आन्दोलनमा लागेर संसारभरि चर्चित भए। एप्पलका संस्थापक स्टेप जब्स जीवनभर फेल खाए तर उनले सुरु गरेको कम्पनी एप्पलले संसार खायो। स्वामी विवेकानन्दले सानै उमेरमा वेद दर्शनमा संसार हल्लाए । विश्वका धनी एलन मक्सले खासै कलेज विद्यालय नपढी रकेट बनाई संसारका धनाड्य भए ।
 
हो यहीबाट हामीले सिक्नुपर्नेछ। रविन्द्रनाथ टेगोरकी आमाले उनको जन्मदिनमा एक नोट लेखिन्, ‘मेरा अरु छोराहरु डाक्टर इन्जिनियर वा ठूला पदमा छन् तर रविन्द्र कवितामा छ, यसमा मलाई पीडा छ ।’ स्मरण रहोस् रविन्द्रनाथ मरेर गए पनि उनका सिर्जना संसारभर आज पनि छन् आमाले सफलता मानेका अरु छोराहरूको नाम सायद कसैलाई याद छ ।
 
तसर्थ बच्चालाई अनुशासित बनाउने वा ठूलो मान्छे बनाउने सपनामा भन्दा बढी उसको भित्री इच्छा चिन्नतिर लाग्नुहोस्। हर मानिसमा एक अलौकिक क्षमता छ त्यसलाई बच्चालाई प्रेरित गर्नुहोस् ।
 
– परीक्षा वा प्राप्ताङ्क खासै केही होइन भन्ने सिकाउनुहोस्
– बच्चालाई बारम्बार अरुका बच्चासँग तुलना गरी प्रतिस्पर्धीको भाव वा इगो उत्पन्न नगराउनुहोस् ।
– हर बच्चालाई के कुरामा विशेष इच्छा छ त्यो इच्छा चिनेर अगाडि हिँड्न हौसला दिनुहोस् हर बच्चालाई सधैं बच्चालाई पोजिटिभ कुराहरुको बारेमा सिकाउनुहोस् ।
 – प्रथम द्वितीय स्थानलाई महत्व नदिनुहोस्।
– बच्चालाई अरुले लेखेका सूत्र कण्ठ गराउन भन्दा उसलाई नयाँ कुरा सोच विचार गर्न उत्प्रेरित गराउनुहोस्।
– जति तपाईंले बच्चालाई दबाब दिनुहुन्छ बच्चा उति तपाईंको उल्टो कुरामा लाग्छ। अनुभव गर्न दिनुहोस् ताकि आफै स्वयं सचेत रहोस्।
 –तपाईंको बच्चालाई गल्ती गर्नै नदिने नगर्नुहोस् तर एउटै गल्ती बारबार नगरोस्।
– बच्चालाई जबरजस्त डाक्टर नर्स इन्जिनियर बनाउने प्रेसर दिनभन्दा पनि उसको इच्छा जेमा छ त्यसमा अगाडि बढ भनेर हौसला दिनुहोस्।
– तपाईंले आफ्नो इच्छा उसमा उसको जिम्मामा नलगाउनुहोस् प्रकृतिले तपाईंलाई फरक बनायो भने बच्चा पनि फरक छ।
 – उसको गल्तीमा नरिसाउनुहोस् तर तपाईंले ‘मलाई यो ठिक लाग्छ तिम्रो आफ्नो विचार गर’ भनेर सल्लाह दिनुहोस्।
– बच्चा जे पढ्दा जेसिता खुसी हुन्छ त्यो कुरामा अगाडि बढाउनुहोस् न कि तपाईंको ।
–बच्चा खेलप्रति उत्सुक छ भने कृपया उसलाई खेलमै लाग्न दिनुहोस् भोलि खेल जगतमा राम्रो हुन सक्छ ।
 
अन्त्यमा परमात्माले जेका लागि जन्म दिन्छन् त्यसमा उसको अद्भुत सफलता मिल्छ। तपाईंको हरपल सुखद रहोस्।

 

Tags: