राजनीति, समाजसेवा र व्यवसायका पर्याय - सुशील

Image

राजनीति, समाजसेवा र व्यवसाय – सुशील खड्कासँग जोडिएका पहिचान हुन् ।  दुप्चेश्वर गाउँपालिका–७ नुवाकोट स्थायी ठेगाना भएका शुशिल राजनीति, समाजसेवा र व्यवसायलाई सन्तुलित तरिका अगाडि बढाइरहेका छन् । राजनीतिक रूपमा  नेकपा एमाले नुवाकोट जिल्ला कमिटी सदस्यको रुपमा रहेका उनी गएको प्रदेशसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं १ (१) प्रत्यासी समेत हुन् ।
 
२०३७ सालका जन्मिएका उनी आफूलाई व्यवसायमा समेत उत्तिकै अब्बल रूपमा स्थापित गराएका छन् । उनको पारिवारिक पृष्ठभूमि हेर्दा उनी राजनीतिक संलग्नताका हिसाबले उनी तेस्रो पुस्तका हुन् । उनका हजुरबुवा पञ्चयात कालका नुवाकोटका सांसद थिए । व्यवसायमा रहेका उनका बुवा पनि पछि राजनीतिमै जोडिए तर त्यति सफल भएनन्, रगतमै राजनीति, व्यवसाय र समाजसेवा रहेका उनी अहिले त्यसलाईसँगै लिएर संघर्ष गर्दैछन् । तीन दाजुभाई, एक बहिनीसहितको परिवारका माइलो छोरोको रूपमा जन्मिएका सुशील शिक्षित र मध्यम आर्थिकस्तरको पारिवारिक पृष्ठभूमिमा जन्मिएका कारण विद्यालयस्तरको पढाई र हुर्काइमा त्यति धेरै संघर्ष गर्नु परेन ।

हजुरबुवा देखि बुवा हुँदै उनको पुस्तामा आउँदासम्म समाजसेवा उनको परिवारको नियमितता जस्तै हो । उनी पनि त्यसभन्दा बाहिर जान सकेनन् अथवा गएनन् । समाजसेवालाई उनले जसलाई जेको खाँचो छ, त्यसलाई पूरा गर्न सघाउनुलाई समाजसेवा मान्छन् । व्यक्ति देखि समाजसम्मले लिने लाभलाई उनी समाजसेवा मान्छन् र अहिलेसम्म उनले गर्दै पनि आएका छन् त्यही । ‘म कहाँ आर्थिक अवस्था कमजोर भएर औषधि उपचार गर्न नसक्ने पृष्ठभूमिका धेरै आउनुुहुन्छ, परिवारमा अभिभावक गुमाएका, सहारा र सहयोगको खाँचो भएका व्यक्तिहरू आउनुहुन्छ,’ उनले भने, ‘मैले सहयोग गर्दै आएका यस्ता धेरै विद्यार्थी भाईबहिनी छन्, जसले आर्थिक अभावका कारण पढाईलाई अगाडि बढाउन नसकेको अवस्थामा मेरो सहयोगबाट अगाडि बढेका छन् ।’ योसँगैसँगै सामाजिक रुपमा समाजले लाभ लिने गरी विभिन्न खालका विकासका योजनालाई उनले प्राथमिकताका साथ अगाडि बढाउन सहयोग गर्दै आएका छन् ।

‘गाउँघरमा हेर्दा सामान्य लाग्ने तर पुस्तौंदेखि खानेपानी, बाटो, बिजुली लगायतका समस्या भएका गाउँलेहरू अफ्ठ्यारो पर्यो भन्दै आउनुुहुन्छ, यस्तो अवस्थामा नागरिककलाई मैले सहयोग गर्दै आएको छु,’ उनले भने । अहिले पनि आफूलाई जनताको प्रतिनिधि हौं भन्नेहरूले नै टाठाबाठा र सुकिलामुकिलाको आवाजमात्र सुन्ने प्रवृति भएको उनको बुझाइ छ । ‘तर मेरो प्राथमिकता अरुबाट सहयोग पाउन नसकेका, आफ्नो आवाजलाई बाहिर ल्याउन नसक्ने विपन्न, दलित समुदायका नागरिकहरू पर्नुहुन्छ ।’

उनी आफू ‘सेवा नै धर्म हो’ भन्ने मान्यतालाई अंगिकार गर्ने र धार्मिक प्रवृत्तिको व्यक्ति भएको कारण समाजसेवालाई आफ्नो जीवनको अंग भएका बताउँछन् । उनले अहिले आफूले गरेको नाफाको १० प्रतिशत सामाजिक काममा खर्चने  प्रण पनि गरेका छन् । उनी विद्यालयस्तर देखि नै आफू अरुको सेवामा संलग्न भएको संझन्छन् । स्कुल अवस्थामा धेरै जना विद्यार्थी सामान्य शुल्क तिर्न नसकेर विद्यालय छाड्न परेको अवस्थाले उनलाई छुन्थ्यो । उनी भन्छन्, ‘यस्तो अवस्थामा मैले स्कुल पढ्दा छात्रावासमा बस्ने विद्यार्थीलाई खानाको व्यवस्था, घरबाट पैसा मागेर उनीहरुलाई ओढ्ने ओछ्याउनेको व्यवस्था पनि गरेका सम्झन्छु, लाग्छ यी कुराले मलाई समाजसेवा तिर बढी डोहोर्यायो ।’

उनी चाहेको भए कुनै सम्पन्न र प्रतिष्ठित ठानिएका मुलुकमा गएर उतै सेटल हुन सक्थे । उनका धेरै साथीहरू अमेरिका लगायतका देशमा पुगेर उतै रमाएका पनि छन् । सुशील आफूपनि विदेशिने उद्देश्यका साथ पासपोर्ट बनाएर तयारी समेत गरेका थिए । तर २०५१ सालमा उनका साथ नुवाकोटमै राजनीति गरिरहेका उनका साथी रमेशकुमार महतसँग संगत भयो । कांग्रेसबाट राजनीति गर्ने उनी हाल बागमती प्रदेशसभाका सांसद पनि हुन् । रमेशसँगको सामिप्यतालाई उनलाई राजनीतिमा डाहोर्यायो ।

‘सबैजना विदेशमा गएपछि परिवर्तन खोजिरहेको हाम्रो गाउँको विकास कसले गरिदिन्छ भन्ने कुराले पनि मलाइ छोयो, विकास सबैले खोज्ने तर विदेशैमात्रै ताक्ने प्रवृति बढी भएपछि मेरो विदेश प्रतिको मोह भंग भयो,’ उनले भने, ‘परिवर्तनका कुरा गर्ने बढी थिए तर देशको लागि केही गर्नुपर्छ, देशको विकासको लागि यही माटोमा बसेर केही गर्नुपर्छ भन्नेको संख्या कम देखें र मैले देशमै केही गर्ने निर्णय लिएँ ।’


शुरुमा व्यवसायबाट अगाडि बढेका उनले एकै पटक डेढ २ सय जनालाई रोजगारी दिएका थिए र सबैतिर जस्तै उनको व्यवसायमा पनि प्रभाव पर्यो , अहिले उनको व्यवसायमा ५७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उनले शान्ता खड्कासँगै २०५४ सालमा प्रेम विवाह गरेका हुन् । प्रेम विवाह भएका कारण परिवारले अस्वीकार गर्दा एक खालको खटपट पनि भयो । यस्तो अवस्थामा उनी परिवारसँग छुटिएर बस्नुपर्ने अवस्था आयो र उनका साथीले कार्गोको व्यवसाय गर्थे । उनीपनि कार्गो व्यवसायमा जोडिएर तीन महिनासँगै काम गरे । तीन महिना पछि साथी व्यवसाय छाडेर सपरिवार अमेरिका गए । उनलाई सोही व्यवसायलाई अगाडि बढाउन मन लाग्यो। ‘सुशान्ति कार्गो’ नाममा व्यवसाय दर्ता गरे । अहिले पनि उनको सो व्यवसाय निरन्तर छ ।

त्योसँगै अन्य व्यवसायमा हात हाल्ने क्रममा ‘कोटवारी कृषि’ फर्म चलाएका छन् । कृषि फर्मले एभोगाडो, किवी, कागती, अलैंची लगायत उत्पादन हुँदै आएको छ । उनी पशुपालन व्यवसायको तयारीमा पनि जुटेका छन् । उनकोे कोटवारी होटलको नाममा ३० कोठाको होटल नुवाकोटमा निर्माणाधिन छ । त्यस्तै कोटबारी इनर्जीको नाममा हाइड्रो व्यवसाय पनि उनले हात हालेका छन् । हाइड्रको परियोजना अगाडि बढ्दै रहेको उनले बताए ।

उनी नेपालै युवा अडिएर केही गर्नुपर्ने मान्यता राख्छन् तर राज्यनै सहयोगी नभएको उनको गुनासो छ । ‘अहिले पनि कसैले चाहाँदैमा व्यवसाय गर्न सक्ने अवस्था छैन र राज्यका नीति, व्यवसायमा गर्ने लगानी, दर्ता प्रकृया सबै झन्झटिला छन् । व्यवसायका मर्का, अफ्ठ्यारा, संघर्षलाई कसैले पनि बुझ्ने प्रयास गरको देखिन्न, ’ उनले भने ।

नेपाल हरेक क्षेत्रमा धेरै सम्भावना बोकेको देश भएको सुशील बताउँछन् । ‘नेपाली विदेशमा गएर जुनसुकै काम गर्न तयार भएका हुन्छन् । तर आफ्नो देशमा दुःख गर्न कोही तयार देखिन्नन्, यही नै हो विडम्बना,’ उनी भन्छन्,  ‘युवा विदेशमा ज्यानको बाजी राखेर रेमिट्यान्स पठाएको हुन्छ, यहाँ रेमिट्यान्सको पैसाले आयात गरिएका वस्तुमा खर्च गर्नुपरेको छ । यस्तो अवस्थामा मुलुक कसरी माथि जान्छ ?’ नेपालमा उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्न सके कृषिमा धेरै राम्रो सम्भावना भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीसँग नभएको इच्छा शक्ति हो । सबैले गर्न सकिएन र हुन्न भन्ने मात्र भए । उत्पादन गर्ने जमिनको सदुपयोग भएको छैन । जिविकोपार्जनको लागि आयातमा निर्भर रहनु परेको छ ।’

५४ हजार रुपैया ऋण गरेर व्यवसाय शुरु गरेका उनको अहिले झण्डै २० करोड भन्दा बढीको व्यावसायिक लगानी छ । उनीसँग व्यवसायलाई अझै धेरै माथि पुर्याउने योजना र सपना छन् । सफलताको यो उचाइसम्म आउँदा उनले धेरै संघर्ष गरेका छन् , दुःख भोगेका छन् । अफ्ठ्यारोका बीच उनले संघर्ष गरे । अहिले उनको जे सफलता छ, त्यसका पछाडि उनको आफ्नै लगाव र प्रयास छ । व्यवसायलाई अगाडि ल्याउनको लागि उनलाई कार्गो व्यवसायले साथ दियो ।

घरको पारिवारिक जिम्मेवारी उनकै काँधमा आयो, जसले गर्दा उनले पढाइलाई अगाडि बढाउन पाएनन् । ‘हामी यतिसम्म संकटको अवस्थामा पुग्यौं, सम्पन्न परिवारका हामी आमा, दाई, भाई, बहिनी, म एउटै कोठामा बस्नुपर्ने अवस्था आयो,’ उनी सम्झन्छन, ‘अवस्था यस्तो पनि आयो, मसँग ९५ रुपैयाँ नभएर आमालाई टिचिङ अस्पतालबाट डिस्चार्ज गर्न नसकेर रात कुराएको पनि छु ।’

सानोमा परिवारमा धेरै दुःख नपरे पनि बीचमा बुवाले वेवास्ता गर्दा परिवारमा संकटको अवस्था आयो । भावुक हुँदै सुशील भन्छन्, ‘गल्ती हाम्रो पनि थियो कि ? या बुवाको भगवानलाई थाहा होला । तर हामी बच्चै अवस्थामा हुँदा बुवा टाढिए पछि हामीले अलि बढी दुःख पायौं, तर तिनै संघर्ष र दुःख झेल्दा अहिले आज यो अवस्थामा आउन सक्ने भयौं होला ।’

 

 

 

 

Tags: