बन्दै गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, निर्माणका लागि टेण्डर आह्वान

Image

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले बिहीवार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको हो । भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ ।

रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ । महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो ।

यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आर्कषक गन्तव्य रंगशाला भएकाले सकरात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको जानकारी दिइन् ।

लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगतका लागि उत्साह थपिएको उनले बताइन्। उनले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने पनि बताइन्।
काक्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर, र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । रंगशाला निर्माणको लागि धुम्रुस सुन्तली फाउण्डेसनले अभियान चलाएको भएपनि ऋण लागेको भन्दै बन्दा बन्दै स्थगित गरेको थियो ।

 

Tags: