बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार

Image

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु ५ हजार उपलब्ध गराउने भएको छ ।
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु ५ हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रू. ५ हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष न्यौपानेले भने, ‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।’
वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुदाँका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले रू. ५ हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात÷आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए ।  

“वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आआफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ”, उहाँले भन्नुभयो । उक्तबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।

 

Tags: