थुलुङ दुधकोशीद्वारा जारी शैक्षिक श्वेत पत्रको प्रभाव –  शैक्षिक गुणस्तरमा सुधार

Image

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले जारी गरेको शैक्षिक श्वेत पत्रले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव परेको पाइएको छ ।  बुधबार गाउँपालिकाले आयोजना गरेको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैले शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक श्वेत पत्रले सकारात्मक प्रभाव पारेको बताएका हुन् ।
शैक्षिक गुणस्तर वृद्धिका लागि २०८० जेठ २१ गते पालिकाले १६ बुदे शैक्षिक श्वेत पत्र जारी गरेको थियो । उक्त श्वेत पत्रका कारण विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई काम गर्न सहज बन्नका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको पाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
कार्यक्रममा पालिका भित्रका ५२ वटा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको सहभागीता रहेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार विद्यालायका प्रधानाध्यापक र व्यवस्थापन समितिले विगत र वर्तमानको शैक्षिक अवस्थाका बारेमा जानकारी दिँदै आगामी योजनाका लागि सुझाव समेत दिएका छन् ।

गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको लगानी अनुसार गुणस्तरीयता कायम गर्न लागिरहेको कालिकादेवी माध्यमिक विद्यालय पन्चनका प्रधानाध्यापक विष्णु ढुङ्गेलले बताए । गाउँपालिका सरकार प्रमुखको शिक्षा क्षेत्रमा देखिएको लगाव तथा उत्प्रेरणाका कारण आफुहरू थप सक्रिय बन्नेगरेको जोगरा आधारभुत विद्यालयका प्रधानाध्यापक सैमान नेपालीले बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र स्थानीय सरकार बीच आवश्यक छलफल गरि शैक्षिक गुणस्तरका लागि काम गरिरहेको देउसा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर राईले बताए । स्थानीय सरकारको सहयोगका कारण आफुहरुलाइ काम गर्न सहज भएको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकार आउनुपुर्व कहालीलाग्दो अवस्थामा रहेको शैक्षिक अवस्थामा सुधार आएको प्रती खुशी व्यक्त गरे । शिक्षक र विद्यार्थी ११ बजे सम्म पनि विद्यालय नपुग्ने देखि नियमित नहुने लगायत कयौं समस्या रहेको सम्झदै अध्यक्ष राईले पछिल्लो समयको सुधार संतोषजनक रहेको बताए ।
दोस्रो कार्यकाल गाउँपालिका सरकारको नेतृत्व गर्नुभएका पालिका अध्यक्ष असिम राईले शिक्षकले सिर्जनशीलतामा जोड दिनसके शिक्षाका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा कमी हुने बताए ।

भौतिक पुर्वधार निर्माणका बिकास तत्काल देखिने भएपनि पालिकाले शिक्षामा गरेको ठूलो लगानीको नतिजा लामो समयपछि देखिने भन्दै अध्यक्ष राईले अहिलेको अवस्थालाई अझ माथी उकास्नको लागि सक्रिय हुन सुझाव दिए ।
 

Tags: