घट्यो एनटीसीको रोमिङ शुल्क
काठमाडौं । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको बताएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले बताइएको छ ।
यस अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुने प्रवक्ता हरि ढकालले जानकारी दिए । नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने बताएको छ ।
डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ठ३ डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ ।