खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

Image

काठमाडौं – सामुदायिक कल्याणलाई प्रवद्र्धन गर्ने प्रयासमा, ठोस फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा काम गर्दै आएको संस्था नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण व्यवस्थापन केन्द्र (नेप्सेम्याक)ले ललितपुर महानगरपालिका–३, नयाँबाटोमा ‘रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविर’ सम्पन्न गरेको छ ।

नेप्सेम्याकको मुख्य आयोजना र परिचित बचत तथा ऋण सहकारी लिमिटेड, ललितपुर १३, कुसुन्तीको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य सेवा प्रदायक तथा सामाजिक सेवामा संलग्न संस्थाहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । ललितपुरको धोबीघाटमा रहेको मेघा अस्पताल, काठमाडौंको चावहिलमा रहेको परिवर्तन सेवा प्रा.लि र नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको सहयोग र सक्रियतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रमको लागि स्थानीय सरकारका तर्फबाट ललितपुर महानगरपालिका वडा नं ४ को समेत सहयोग रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले रक्तदानको सम्पूर्ण  प्राविधिक चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा ३८ जना दाताले रक्तदान गरेका थिए । नेप्सेम्याक अनतर्गत ठोस फोहोर व्यवस्थापनमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको मुख्य सहभागिता रहेको रक्तदान कार्यको थालनी नेप्सेम्याक कर्मचारी मुल इकाई कमिटीका अध्यक्ष सोमनाथ ढकालले रगत दिएर सुरु गरेका थिए । साथै, मेघा अस्पतालले स्त्री रोग, दन्तचिकित्सा, छाला र सामान्य औषधिमा विशेषज्ञता प्रदान गर्ने विशेषज्ञहरूको उपस्थितिमा व्यापक स्वास्थ्य जाँच सेवाहरू उपलब्ध गराएको थियो ।

जाँच सेवाका क्रममा २० जना महिलाले स्त्रीरोग सेवा, २३ जना बिरामीले दाँतको जाँच, २१ जनाले छाला विशेषज्ञसँग परामर्श लिएका थिए र २८ जनाले सामान्य चिकित्सकबाट सेवा लिएका थिए । शिविरमा ३२ जनाले ब्लड सुगर परीक्षण गराएका थिए ।

नेप्सेमाकका अध्यक्ष टिकाराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा ललितपुर मनपा वडा ४ का वडा अध्यक्ष सन्तोष खड्का, वडा २ का सदस्य सुजिता नेपाली, मेघा अस्पतालका अध्यक्ष किशोर जङ्ग राणा, नेप्सेम्याक सेवा प्रा.लि.का मुख्य सञ्चालक लक्ष्मीप्रसाद गेलाल लगायतको उपस्थिति रहेको थियो । सबै अतिथिहरूले कार्यक्रम र आयोजकको प्रशंसा व्यक्त गरेका थिए। यस्ता कार्यक्रमहरूले स्वास्थ्य जागरूकता र सामुदायिक कल्याणलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबैले जोड दिएका थिए । मेघा अस्पतालको प्राविधिक व्यवस्थापक एवं स्वास्थ्य विशेषज्ञ डा. समिर श्रीवास्तावले नियमित स्वास्थ्य जाँचको बारेमा उत्प्रेरणमूलक भनाइ मन्तव्य राखेका थिए । अतिथिहरुबाट रक्तदाताहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो । कार्यक्रमको संयोजन आयोजक संस्था नेप्सेम्याकका कार्यक्रम संयोजक एवं प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले गरेका थिए ।

 

 

Tags: