ओशोधाराको ध्यान समाधी र परमतत्व साक्षात्कार कार्यक्रम सम्पन्न

Image


काठमाडौं– ओशोधारा नेपालको आयोजनामा माघ २६,२७ र २८ काठमाडौंमा दोस्रो तहको सुरति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । सांसारिक भागदौड, प्रतिष्पर्धा र तनावले भरिएको जीवनमा मात्र तीन दिनको सुरति योगले जीवन र जगतलाई बुझ्ने मात्र होइन अनुभूतिको आधारमा शान्त, संयम, प्रफुल्ल भएर जीवनप्रति धन्यवाद व्यक्त गरेको सहभागी पम्फा पाण्डेले बताइन्।

‘जीवनलाई देख्ने, सोच्ने र अनुभूति गर्ने शैली नै थाहा रहेनछ भन्ने कुरा तीन दिनको श्रुति योगले अनुभूति दिलाएको छ,’ अर्का सहभागी भुषण मल्लले भने, ‘यही स्वास, यही शरीर, शरीरभन्दा भित्रको आत्माको आयामलाई नजानेर नै मानिस जीवनमा दुःख आर्जन गर्ने रहेछ, असली धन र असली ऊर्जा त आन्तरिक अनुभव रहेछ, यही नजानेर नै मानिस प्रतिष्पर्धा र द्वेषमा उत्रिने रहेछ ।’

सुमिरन योग, प्रिती योग र आनापानसति योगको अभ्यास आफ्नो जीवनमा जीवनकालकै सबैभन्दा महत्वपूर्ण रूपान्तरण ल्याएको अनुभूति भएको सहभागी अनु भट्टराईले बताइन्। ‘आचार्यहरूको प्रस्तुति र शालीनताबाट नै थाहा लाग्दछ ओशोधाराका प्रत्येक कार्यक्रमले जीवनमा नयाँ रस, दिव्यता र प्रेम थप्दछ,’ आफूले यो कार्यक्रम दोस्रो पटक पनि गरेको र जतिपटक गरेपनि आनन्द र आत्मगत स्वभावमा जिउन मद्धत पुग्ने कुरा सहभागी मैया मल्लको अनुभव थियो ।
संसारमा बाहिरी भौतिक पदार्थसँगको प्रिती भोगिसकेको र त्यसले भित्र तृप्ति नदिने, कहीँ न कतै दुख र अस्वाभाविक स्थितिको महसुस भईरहनु स्वाभाविक रहेको भन्दै सहभागी मञ्जु घिमिरे अधिकारीले भनिन्, ‘त्यसैले भित्रको आन्नदमा डुब्ने कला र परमात्मासँग नै प्रिती बसेपछि संसारप्रति दया लाग्दो रहेछ ।’

कार्यक्रममा सहभागी सबैले तीन दिनमा आफूमा आएको रूपान्तरणलाई जीवनशैली बनाउने प्रण गरेका थिए र सबैले ओशोधाराका ध्यान एवं योगका विधिहरू सिकेर जीवनलाई बाहिर भित्र सम्पन्न र सुखी बनाउन अनुरोध पनि गरेका थिए। आचार्य डा नम्रता पाण्डे, आचार्य इन्जिनियर अनन्त विष्ट र आचार्य पूजारीजी ले सत्रहरू संचालन गरेका थिए।

 

Tags: