ओशोधाराको तीन दिवसीय ध्यान योग कार्यक्रम सम्पन्न

Image

काठमाडौं – नियमित रूपमा ध्यान तथा योगको माध्यमबाट जीवन रुपान्तर अभियान सञ्चालन गरिरहेको ओशोधारा नेपालले २०८० फागुन २५ गते देखि २८ गते सम्म नयाँ चरणको ध्यान तथा योग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट ५० बढी सहभागीले लाभ लिएका छन् । साधकले ध्यान तथा योगबाट आफ्नो जीवन रुपान्तरण भएको अनुभव व्यक्त गरिरहेका छन् ।

कार्यक्रममा सबै मानिस आनन्द, शान्ति र प्रेमको खोजीमा रहने र त्यसलाई विभिन्न रुपमा खोज्न प्रयास गरिने बताइएको थियो । आनन्द, शान्ति र प्रेमको स्रोत भित्र भएको र भित्रबाट आफू आनन्द, शान्त, प्रेमल हुने कला जानेपछि मात्र बाँकी चिज र व्यक्तिबाट आनन्द प्राप्त हुने बताइएको थियो । त्यो स्रोत कस्तो छ र कसरी अनुभूति गर्ने भन्ने कला कार्यक्रमबाट सिकेको साधकहरूले बताएका थिए ।

ध्यान र प्रज्ञाको माध्यमबाट स्वाध्याय गर्दै, स्वयं अभ्यास गर्ने सूत्रमार्फत आफ्नो आध्यात्मिक स्रोत सम्म पुग्ने कला सिकेर स्व–अनुभूतिमा उत्रिएको साधक शारदा प्रसाद घिमिरेले बताए । ‘जीवनभर अरूलाई खुसी दिन र अरूबाट खुसी पाउने प्रयासमा रहेछु, ३ दिनको कार्यक्रमबाट अनुभव गरें खुसीको साँचो त स्वयंभित्र रहेछ । स्वयंलाई प्रेम गर्न जानेर स्व–आचरणमा रहन सकेमात्र दुख र कथाबाट मुक्त भइने रहेछ,’ कार्यक्रमका सहभागी राजेन्द्र मालाकारले बताए ।

ध्यान र प्रज्ञाको विकास युवा अवस्थामै हुन सके बाहिरी परिस्थिति र प्रतिकूलतालाई पनि व्यवस्थापन गर्न सकिने कलेज पढ्दै गरेका पूजन मालीले अनुभव सुनाए । ‘ध्यान गर्न तनावमै पुग्नुपर्ने, उमेर पुग्नुपर्ने होइन रहेछ विवेक पुग्नुपर्ने रहेछ ,’ कलेज पढ्दै गरेकी दीक्षाले छुट्टीको उपयोग गरेर ध्यान योगमा सहभागि भएको र यसबाट नयॉं नयॉं अनुभूती हॉंसिल गरेको बताइन् । सहभागी आभूषण अधिकारीले भने, ‘मैले त समर्थगुरूबाट नाम दीक्षामा पनि प्रेम आभूषण नाम पाएको छु । अब जीवनलाई प्रेमपूर्ण र सृजनात्मक तरिकाले अघि बढाउने छु ।’

समर्थगुरूको निर्देशनमा आचार्य दर्शनजीले नाद दीक्षा दिएका थिए भने, आचार्य डा.नम्रता पाण्डे, आचार्य पूजारी र आचार्य ई. अनन्त विष्टले आचार्यको भूमिका निर्वाह गरेका थिए। व्यवस्थापनमा स्वामी पूर्ण मालीले जिम्मेवारी निर्वाह गर्दै चन्द्रागिरी ध्यान केन्द्रमा नै सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका रहेको थियो ।

आचार्य सूर्य सापकोटा, सिमा ज्ञवाली, स्वामी अजय शाह, स्वामी प्रदीप लामिछानेले कार्यक्रम सफल बनाउन अथक मिहिनेत गरेको आयोजकले बताए । ओशोधारा नेपाल मार्फत प्रत्येक महिना हुने विशेष कार्यक्रम, प्रत्येक शनिवार हुने ध्यान सत्सँग र नियमित जुम मार्फत संचालन भइरहेको ध्यान योग कार्यक्रममा सहभागी भएर जो कोहिले लाभ लिन सक्ने आयोजकले बताएका छन् ।

 

Tags: