आजदेखि एसईई परीक्षा, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी
दाङको घोराही उपमहानगरपालिका– १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसइई परीक्षा दिन जाँदै । दाङ जिल्लामा ४७ वटा परीक्षा केन्द्रबाट १२ हजार आठ सय ९८ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । तस्बिर : कुलदीप न्यौपाने /रासस
काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । २७ गतेसम्म चल्ने परीक्षाको पहिलो दिन आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहेको छ।
एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।