अर्थतन्त्रमा सुधार नआए बैंकहरूले अर्को वर्ष लाभांश दिन सक्दैनन् : सिईओ ढुंगाना

Image

काठमाडौं – नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ। अहिले बजारमा खरिदविक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग असर गरेको उनको भनाइ छ।

‘यसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपरेको छ,’ उनले भने, ‘अहिले मुलुकमा पूँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सही भएन ।’ यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाइ छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको देखाउने उनले बताए । कार्यक्रममा फेजाकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।

 

Tags: