अरूलाई दुःखी बनाउन आफूले भोगेका दुःख

Image

कुनै एक गाउँमा २ जना मानिसहरू बस्थे । एक जना साह्रै स्वार्थी थियो उसले खाली आफ्नो मात्र स्वार्थ खोज्ने बानी हुनाले उसको नाम थियो–स्वार्थीराम, अनी अर्को करुणावान थियो, सबैको भलो खोज्ने बानी हुनाले उसको नाम थियो–दयाराम ।

कुनै समय त्यो गाउँमा पानीको ठूलो संकट लाग्यो । पानी माग्दै दुवैजना मिलेर भगवानलाई बिन्ती गर्छन् ।
स्वार्थीरामले भगवानसँग पानी माग्दै भन्यो, ‘हे प्रभु मलाई मात्र पानी दिनुहोस् ’
त्यही समयमा दयारामले भगवानसँग भन्यो, ‘हे प्रभु सबैलाई पानी दिनुहोस् ।’
भगवान लाई स्वार्थीराम को मन जाँच्न मन लाग्यो । अनि उनी स्वार्थीरामको नजिक आएर भने, ‘ ल भन के वरदान दिउँ ? जुनसुकै माग गर, त्यो म दिन्छु तर त्यसमा एउटा शर्त छ ।’

‘के शर्त प्रभु ?,’ स्वार्थीरामले भन्यो ।

भगवानले भने, ‘तिमीले जे सुकै माग म तिमीलाई एउटा मात्र दिन्छु तर तिम्रो साथी लाई तिमीले मागेको बरदान दुइटा दिन्छु ।’

स्वार्थीरामले भन्यो, ‘शर्त मञ्जुर प्रभु, मलाई ठूलो यो गाउँजत्रो पानीले भरिएको इनार दिनुहोस् ।’ स्वार्थीरामको इच्छा भगवानले पूरा गरिदिए । भयवानले दयारामलाई त्यत्तिकै ठूलो पोखरी दिए ।

स्वार्थीरामले इनार आफ्नो प्रयोजनको लागि मात्र प्रयोग गर्यो । उता दयारामले पाएका दुई ओटा पोखरी दुई गाउँलाई पुर्यायो । दयारामले गरेको सहयोग पछि उसलाई सबैले धन्यावाद दिए, उ प्रति अनुग्रसहित भएर खुशी भए । एकै पटक सबैको आवश्यकता पूरा भयो । सबै गाउँलेहरूले दयारामको जय जयकार गरे ।

यो देखेर अनी स्वार्थीराम लाई साह्रै पीडा भयो । उसले दयारामलाई दुःख दिने उपाय सोंच्न लाग्यो । उसले मनमनै भन्यो, ‘दयारामले यस्तो दुःख पाओस्, उसको दुःख संसारले देखोस् ।’ यसको लागि उपाय भनेकै भगवानको आराधान नै थियो । उ फेरि लामो समय प्राथना गरेर भगवानलाई बोलायो ।

भगवान स्वार्थीराम समक्ष आए र भने, ‘स्वार्थीराम तिमीबाट प्रसन्न छु बरदान माग ।’ उसले भन्यो, ‘प्रभु मेरो एउटा आँखा फुटाइदिनुस् ।’ भगवानले ‘तथास्तु’ भने । उसको एउटा आँखा फुट्यो, सँगसँगै दयारामका दुई आँखा फुटे ।

स्वार्थीरामलाई सबैले सोधे, ‘किन तिमीले आफ्नो एउटा आँखा फुटाउने मुर्ख बर मागेको ? ’

स्वार्थीरामले भन्यो, ‘अरे यार मेरो एक आँखा फुटाए पनि एक आँखाले देखेकै छ मलाई के समस्या छ र तर हेर त दयारामको दुई ओटा नै फुट्यो उसले केही देख्दैन आखिर जित मेरै भयो ।’

कथाको सार के हो भने समाजमा अरुको अहितको लागि आफूले दुःख निम्त्याउने को कमी छैन । खासमा हामीले सबैको सुख र सबैमा खुशी खोज्न सके संसार बदलिन्छ, बदल्न सक्छौं ।

 

Tags: