अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाचा पूरा भयो, यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन मन छ : नगरप्रमुख दाहाल

Image

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पूरा भएको बताएकी छिन् । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउँदा दिने गरेको बाचा पूरा भएको प्रष्ट पारिन्।

प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गरिन् । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,’ उनले भनिन्, ‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौं मात्र भन्ने गर्दथ्यौं अब बन्ने पक्का भएको छ ।’

उनले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताइन्। महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाइ थियो । प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पारिन् ।

सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको उनले बताइन् । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

 

Tags: