‘इन्ड्राइभ’को सेवा औपचारिक रूपमा शुरू, आइएमई पेसँग सहकार्य
काठमाडौं– केही वर्षदेखि परीक्षण सेवा उपलब्ध गराउँदै आएको राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा सोमबारदेखि सेवा शुरू गरेको छ । कम्पनीले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी यसको जानकारी दिएको हो ।
शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले केही वर्ष परीक्षणका लागि सेवा शुरू गरेको जानकारी दिँदै केही कानूनी प्रक्रिया पूरा गरी औपचारिकरुपमा सेवा शुरू गरेको बताइन् । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन्। उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन्।
कम्पनीले भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा पनि गरेको छ । सो अवसरमा आइएमई पेका प्रमुख कार्यकारी निर्देशक प्रविन रेग्मीले आफू इन्ड्राइभको स्थापनाको इतिहासबाट उत्साहित भएको र कतै न कतै आइएमईपेको स्थापनाको धरातल पनि इन्ड्राइभसँग मेल खाएको स्मरण गरे। ‘हामीले यो सहकार्य लामो छलफल तथा विभिन्न निष्कर्षका आधारमा तय गरेका हौं, यसले हामी दुई पक्ष मात्र नभएर ड्राइभर्स, प्यासेन्जरसँगै यो इन्डष्ट्रिलाई नै राम्रो बाटोमा लैजान मद्धत गर्छ, ’ उनले भने ।
इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुरमा उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने जानकारी पनि दिएको छ। कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने छ।
इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा शुरू गर्न पाउँदा हर्षित रहेको बताइन्।