मुगुका नागरिकको गुनासो, ‘अख्तियार कार्यालयबाट कालाकोटेले मात्रै लाभ पाए’
मुगु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सदरमुकाममा सार्वजनिक निकायहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले मंगलवार जिल्ला समन्वयको हलमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा जिल्लाको छायाँनाथ रारा नगरपालिका र जिल्लाका सार्वजनिक निकायहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
आयोगको अन्तरक्रिया छलफलमा पत्रकार महासंघ मुगुका अध्यक्ष निपेन्द्र मल्ले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गरे । उनले भने, ‘मलाई यो कार्यालय कालाकोटेका लागि स्थापित भएको महसुस भयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गर्दा उक्त मुद्दाको सहजीकरण गर्ने कालाकोटे ठूलो धनराशी खर्चिनु परेको बताइन्छ, यस्ता अख्तियारका मुद्दा सम्बन्धित निकायलेनै कार्यान्वयन गर्नुपर्छ ।’
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका कर्मचारी विष्णुप्रसाद न्यौपानेले कार्यक्रमको प्रस्तुति गर्नुभएको थियो । छायाँनाथ रारा नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी त्यसैगरी कार्यालय प्रमुख र सार्वजनिक संस्थानका प्रमुखहरूको कार्यक्रममा उपस्थिति थियो ।
आयोगले कार्यान्वयनबाट भएका उपलब्धिहरु र सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो ।