काठमाडाैं – नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो ।
पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको एक मन्त्रिले क्लिकमान्डुलाई जानकारी दिए ।
भट्टराईले छनोट समिति संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकपल्ट पनि बैठक नराखेको तथा कसैको रबर स्टाम्प बन्न नसक्ने भन्दै बैशाख ९ गते राजीनामा दिएका थिए । समितिका अर्का सदस्य डा। विश्व पौडेल हुन् ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार छनौट समितिमा एक जना पूर्वगभर्नर हुनैपर्ने व्यवस्था छ । सरकारले रिक्त पूर्वगभर्नरको स्थानमा निवर्तमान गभर्नर अधिकारीलाई राखेको हो ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ । अधिकारीको कार्यकाल सकिएको करिब १ महिना बित्न लाग्दासमेत सत्तारूढ दुई राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा नमिल्दा गभर्नर नियुक्ति हुन सकेको छैन । अर्कातर्फ अर्थ मन्त्रालय सम्बद्ध निकायका पदाधिकारी नियुक्तिसम्बन्धि मापदण्ड संशोधनविरूद्ध सर्वोच्च अदालतमा एक मुद्दा विचाराधीन छ ।
बुधबार नै सर्वोच्च अदालतले मापदण्ड संशोधन कार्यान्वयन नगर्नु भन्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यता कार्याकारी निर्देशक गुणाकर भट्टको योग्यता नपुग्ने भन्ने पुरक निवेदन सर्वोच्चले अस्विकार गरेको छ ।
पछिल्लो समय दुई दलबीच डा। भट्टलाई गभर्नर बनाउने सहमति भएको बताइएको छ । कार्यकारी निर्देशकबाट डा। भट्टले दिएको राजीनामा भने कामु गभर्नर डा। नीलम ढुंगाना तिम्सिनाले हालसम्म पनि स्विकृत गरेकी छैनन् ।