बाँके -भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ ।
मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नं. १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
‘सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागिय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ’,अध्यक्ष खनालले भने,‘यससम्बन्धि सम्पूर्ण तयारी भइसकेको छभने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौं ।’
विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ ।