काठमाडौं -पछिल्ला वर्षहरूमा नेपालमा स्पा व्यवसाय उल्लेखनीय रूपमा फस्टिएको छ । लामो पदयात्रा, थकाइपूर्ण दैनिकी वा मानसिक तनावपछि विश्राम र ऊर्जाका लागि नेपालीहरूले पनि स्पाको सेवा लिन थालेका छन् ।
फ्रान्सबाट आएकी नातालीले ‘थ्री पासेस ट्रेक’ पूरा गरेपछि आफू निकै थाकिएको बताइन् । उच्च भू–भागमा हिँड्दा शरीर र खुट्टा थाकेका थिए, उनी भन्छिन्, ‘काठमाडौँ फर्किएपछि जेन स्पामा मसाज गराएँ, निकै ताजगी महसुस भयो । सेवा निकै राम्रो लाग्यो ।’
त्यस्तै, हङ्कङकी पउलले पनि नेपालका पदयात्रा भ्रमणपछि स्पा अनिवार्यजस्तै हुने बताइन् । उनले भनिन्, ‘पदयात्रापछि स्पा नगरी शरीरले मान्दैन, यो शरीरका लागि औषधिजस्तै हो । यहाँको सेवा निकै उत्कृष्ट छ ।’
स्पालाई पानीबाट गरिने उपचार विधिको रूपमा चिनिन्छ । यो परापूर्वकालदेखि चलिआएको प्राकृतिक चिकित्सा हो जसले शारीरिक–मानसिक थकान कम गर्नुका साथै प्रतिरोधात्मक शक्ति वृद्धि गर्न सहयोग गर्छ ।
जेन स्पाका सञ्चालक तथा एक्युपञ्चर विशेषज्ञ रामदेव महतोले केही वर्षअघिसम्म स्पालाई विदेशीहरूका लागि मात्र सीमित मानिँदै आएको भए पनि अहिले नेपालीहरूमा यसको माग तीव्र रूपमा बढेको बताए । उनका अनुसार, ‘पहिले नकारात्मक धारणा हाबी थियो, अहिले सोचमा परिवर्तन आएको छ । नेपालीहरू पनि सचेत हुँदै स्पा सेवा लिन थालेका छन् ।’
महतोले विदेशमा सिकेको सीप नेपालमा प्रयोग गरेर स्पा व्यवसायमा लगानी गरिरहेका छन् । उनले सन् २००७ मा फिलिपिन्सबाट तालिम लिएपछि अबुधाबीमा १२ वर्षसम्म स्पा क्षेत्रमा काम गरेका थिए । अहिले उनले ‘जेन स्पा’ का विभिन्न शाखामार्फत व्यवसाय विस्तार गरिरहेका छन् ।
रियल थेरापी एण्ड ब्यूटी प्वाइन्टकी सञ्चालक भबी शर्माले नेपाल आउने अधिकांश विदेशी पर्यटकले स्पामा समय र पैसा खर्च गर्ने जानकारी दिइन् । उनले भनिन्, ‘स्पा वेलनेस टुरिजमको महत्त्वपूर्ण अङ्ग हो । खासगरी पदयात्रामा जाने पर्यटकको प्याकेजमा यो अनिवार्यजस्तै हुन्छ ।’
शर्माका अनुसार, अहिले ट्राभल एजेन्सीहरूले ट्राभल प्याकेजमै स्पालाई समावेश गर्न थालेका छन् । “अहिले यो व्यवसायमा लगानी मात्र बढेको छैन, हजारौँलाई रोजगारी पनि दिएको छ । मर्यादित ढंगले सञ्चालन हुने स्पा नेपालीहरूकै रोजाइमा पर्न थालेका छन्,” उनले थपिन् ।
नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष सुरेश पुरीले स्पा र वेलनेस पर्यटन तीव्र रूपमा बढिरहेको बताए । साथै, उनले भने, ‘स्पा व्यवसाय विश्राम, उपचार, मानसिक स्वास्थ्य सुधार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको छ । यो अब विलासिता होइन, आवश्यकता बनिसकेको छ ।’
पुरीका अनुसार, मन्त्रालयको नीतिगत सहयोगबाट यो व्यवसाय अझ व्यवस्थित बनाउन सकिनेछ । उनले हालसम्म करिब १ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र १० हजारभन्दा बढी रोजगारी सिर्जना भएको जानकारी दिए ।
यसरी, विश्राम, उपचार र आत्मबल वृद्धिका लागि महत्त्वपूर्ण बनेको स्पा व्यवसाय अहिले नेपाली उपभोक्तामाझ पनि लोकप्रिय बन्दै गएको छ । पर्यटन, स्वास्थ्य र आर्थिक क्षेत्रमा यसको योगदान उल्लेखनीय बन्दै गइरहेको छ ।