काठमाडाैं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा ‘एडुक्लेभ ३.०’ कार्यक्रम बिहीबार काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। वैदेशिक अध्ययन, नेपालको शिक्षा प्रणाली सुधार र अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूमाथि केन्द्रित उक्त कार्यक्रममा राजनीतिक व्यक्तित्वदेखि लिएर शिक्षा क्षेत्रमा सक्रिय विज्ञ र सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै विद्यार्थी विदेशिनुलाई नकारात्मक रूपमा होइन, अवसरको रूपमा लिनुपर्ने धारणा राखे। उनले भने, “विद्यार्थी पलायन हुँदैछन् भनेर चिन्तित हुनुको सट्टा त्यसलाई कसरी विकाससँग जोड्न सकिन्छ भन्नेमा राज्यले सोच्न जरुरी छ। यसबारे रणनीति निर्माण प्रक्रिया अगाडि बढेको छ।”
उनले युवाले विदेशमा सिकेका सीप, ज्ञान र अनुभवलाई देश विकासमा कसरी उपयोग गर्ने भन्नेबारे गम्भीर विचार गर्नुपर्ने बताए। मन्त्री भण्डारीले वैदेशिक अध्ययनलाई रोक्ने भन्दा पनि त्यसबाट फाइदा उठाउने रणनीति निर्माणमा सरकार प्रतिबद्ध रहेको जानकारी गराए।
कार्यक्रममा सत्तारूढ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपालको शिक्षा प्रणालीले युवालाई विदेश जान बाध्य बनाएको भन्दै गुणस्तरीय शिक्षा र अवसरको सिर्जना गरेर उनीहरूलाई स्वदेशमै टिकाइराख्नुपर्ने बताए। उनले भने, “नीतिगत अस्पष्टता, अवसरको अभाव र बेरोजगारीका कारण युवाहरू वैदेशिक अध्ययन रोजिरहेका छन्। अब आवश्यक छ—नीति, प्रणाली र पूर्वाधार सुधार।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्लेले पनि वर्तमान शिक्षा प्रणाली समय सापेक्ष नभएको भन्दै विदेश पलायन घटाउनका लागि शिक्षाको गुणस्तर सुधार अत्यावश्यक रहेको औंल्याए।
रास्वपाकै प्रमुख सचेतक सन्तोष परियारले भने, “हाम्रो शिक्षा प्रणाली रोजगारी उत्पादन गर्न असफल हुँदै गएको छ। यसले युवालाई स्वदेशमा भविष्य देख्न नसक्ने बनाइरहेको छ।”
इक्यान अध्यक्ष शेषराज भट्टराइले भने वैदेशिक अध्ययनलाई समस्या भनेर मात्रै हेर्नु गलत हुने बताए। “विद्यार्थी विदेश जानु आफैंमा समस्या होइन। समस्या त तब हो जब तिनीहरू फर्केर देशमा केही योगदान दिन सक्दैनन्,” उनले भने, “विदेशमा गएका विद्यार्थीले नयाँ ज्ञान र सीप आर्जन गरेर फर्कन्छन्। अब सरकारसँग स्पष्ट नीति हुनुपर्छ—कसरी उनीहरूलाई स्वदेश फर्काएर देश विकासमा प्रयोग गर्ने?”
नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे। “विद्यार्थीलाई मात्र विदेश पठाउने होइन, विदेशी विद्यार्थीलाई नेपाल ल्याउने वातावरण बनाउनुपर्छ। कन्सल्टेन्सीहरूले त्यो भूमिका पनि निर्वाह गर्न सक्छन्,” उनले भने, “तर त्यसका लागि सरकारले विदेशी विद्यार्थीका लागि आवास, शैक्षिक भिसा र सुरक्षाको स्पष्ट ग्यारेन्टी दिनुपर्छ।”
इक्यानका प्रथम उपाध्यक्ष एन्ड्रियु पौडेलले शैक्षिक परामर्शलाई कक्षाकोठा बाहिरको शिक्षाको ढोका भन्दै भने, “विद्यार्थी जब विदेश जान्छन्, उनीहरूले नयाँ अनुभव, सीप र दृष्टिकोण हासिल गर्छन्। हामीले उनीहरूलाई नयाँ संसारमा प्रवेश गराउने काम गरिरहेका छौं।”
इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले बेलायतलाई उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गर्दै भने, “हामीले विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सक्ने सम्भावना पनि खोज्नुपर्छ। त्यसका लागि राज्यले वातावरण निर्माण गर्नुपर्छ।”
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एनओसी (No Objection Certificate) वितरण प्रणाली र सरकारी तयारीको कमजोरी स्वीकार गरे। उनले भने, “आजको दिनसम्म पनि मन्त्रालयसँग नै यकिन तथ्यांक छैन कि कति विद्यार्थी विदेश गएका छन्। यो अवस्था लज्जास्पद हो, तर यस्ता छलफलहरुले हाम्रो कमजोरी सुधार्ने अवसर दिन्छन्।” उनका अनुसार हाल ५ लाखभन्दा बढी विद्यार्थी कक्षा १२ पछि वैदेशिक अध्ययनमा गएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. रामु पौडेलले वैदेशिक अध्ययनका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको भन्ने धारणालाई अस्वीकार गरे। उनले भने, “विदेशमा अध्ययन गर्ने विद्यार्थीबाट मुलुकले पछि फाइदा लिन सक्दछ। सीपयुक्त जनशक्ति राष्ट्र निर्माणमा उपयोगी हुन्छ। अर्बौं रकम गयो भनेर मात्र अर्थतन्त्र कमजोर हुन्छ भन्ने ठोस आधार छैन।”

क्ता वक्ताहरूले विद्यार्थी विदेशगमनलाई समस्या नभएर अवसरको रूपमा लिनुपर्छ भनी जोड दिएका छन्। साथै, विदेशिएका विद्यार्थीको सीप र ज्ञान देश विकासमा उपयोग गर्न नीतिगत प्रयास गर्नुपर्छ भन्ने माग गरिएको छ। यसका साथै, नेपालले विदेशी विद्यार्थीलाई आकर्षित गर्न शैक्षिक भिसा, सुविधा र सुरक्षाको प्रत्याभूति दिनुपर्छ र शिक्षा प्रणालीको गुणस्तर सुधारेर स्वदेशी अवसर बढाउनुपर्छ। वैदेशिक अध्ययनले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावबारे तथ्यांक आधारित विश्लेषण गर्नुपर्छ भन्ने बताइएको छ। यसरी, यस कार्यक्रमले नेपालको शैक्षिक परामर्श क्षेत्रमा नीति, सम्भावना र चुनौतीबारे महत्त्वपूर्ण विचार प्रस्तुत गरेको छ।इक्यानको ‘एडुक्लेभ ३.०’ कार्यक्रमले वैदेशिक अध्ययनलाई नयाँ दृष्टिकोणबाट हेर्न आवश्यकता रहेको देखाएको छ।