काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ शनिबार औपचारिक रूपमा घोषणा गरिएको छ। एक वर्षअघि अनौपचारिक रूपमा गठन भएको महासंघको पहिलो वार्षिक साधारण सभा तथा घोषणा सभा काठमाडौंमा सम्पन्न गरिएको हो।
सभाले राजेन्द्र बरालको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ, जसमा उद्धवबहादुर खड्का महासचिव रहेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराईसहित १० उपाध्यक्ष, ६ सचिव, १० सल्लाहकार सदस्य, कोषाध्यक्ष, विशिष्ट सदस्य, तथा अन्य सदस्यहरू चयन भएका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मलोहत्रालगायत शैक्षिक परामर्श क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महासंघका अध्यक्ष बरालले महासंघ शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको जनाए। साथै, महासंघले शैक्षिक परामर्श व्यवसायमा नीति निर्माण र व्यवस्थापनका लागि सरकार तथा सरोकारवालाहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीले नेपाली विद्यार्थीहरूको विदेश अध्ययन अनिवार्य नरहेको तर नेपालमा शैक्षिक प्रणाली सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। महासंघ इक्यान, आइरिन्, नायर, जाल्सान, केक्यान, इपीक्यान, नेपाल युरोप बिजनेस एसोसिएसन लगायतका ८ वटा संघहरूको सहभागितामा गठन भएको हो।
