अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख रुपैयाँ मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख रुपैयाँ अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको हो । चालु आवमा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उनले जानकारी दिए ।
चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख र कात्तिकमा रु ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा रु ८१ करोड १३ लाख, पुसमा रु ६५ करोड ८७ लाख, माघमा रु ७३ करोड दुई लाख र फागुनमा रु ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको बताए ।
कार्यालयले गत आव २०८०र८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो ।