काठमाडाैं – रोजगारी बजारमा आवश्यक सीपयुक्त जनशक्ति तयार गर्न आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल ( काठमाडौंमा) सञ्चालनमा आएको छ। मंगलबार काठमाडौँको धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले स्कुलको औपचारिक उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले बेरोजगारी र गरिबी न्यूनीकरणका लागि सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजन आवश्यक रहेको बताए। सरकार प्राविधिक शिक्षामा निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको उनले उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले केटीएसको सञ्चालनसँगै आइएमई ग्रुपले प्राविधिक जनशक्ति उत्पादनतर्फ थप लगानी बढाएको बताए। “यो स्कुलले हजारौँ युवालाई रोजगारी वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
ढकालका अनुसार सीपयुक्त जनशक्ति विदेश पठाउँदा राम्रो तलब पाइने मात्र होइन, स्वदेशमै अवसर सिर्जना गरेर देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिन्छ। यस स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी व्यावसायिक तथा रोजगारीमुखी तालिम प्रदान गर्नेछ। आगामी एक दशकभित्र एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको स्कुलका अध्यक्ष मनोज पौडेलले जानकारी दिए।
केटीएसका अध्यक्ष पौडेलले यो स्कुलले नेपालभित्रै रोजगार सिर्जना गर्ने लक्ष्य राखेको बताए। उनले तालिमपछि विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउन उद्योग व्यवसाय तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए।
कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, विदेशी कुटनीतिक नियोग तथा दातृ निकायका सदस्यहरूको उपस्थिति रहेको थियो।