काठमाडौं – ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको छ। महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गरेका छन्।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालका कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपाली चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन यस्ता महोत्सव आवश्यक रहेको बताए।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले नेपाली चलचित्र र संस्कृति विश्वका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए। त्यस्तै, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले निफलाई नेपाली चलचित्रलाई विश्व मञ्चमा जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरे।
महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएका छन्, जसमा बुसान, कान्स, लोकार्नो, बर्लिन जस्ता प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेका चलचित्रहरू समावेश छन्। महोत्सवमा ‘रसियन फिल्म डे’अन्तर्गत तीनवटा रूसी चलचित्र प्रदर्शन गरिनेछ।
यस वर्ष निफमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप गरिएको छ। साथै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५०० अमेरिकी डलरसहित ‘गौतम बुद्ध अवार्ड’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १००० डलरसहित ‘माउन्ट एभरेस्ट अवार्ड’, तथा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५०० डलरसहित ‘बागमती अवार्ड’ प्रदान गरिनेछ।
महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ।