काठमाडाैं- विश्वका विभिन्न मुलुकमा रहेका नेपाली सेफहरू एकै स्थानमा भेला हुने भएका छन्। सेफ सोसाइटी नेपाल को आयोजनामा २०७९ वैशाख ६ गते शनिबार काठमाडौंमा नेपाली सेफहरूको पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन हुने भएको हो। आयोजकका अनुसार ५ हजारभन्दा बढी सेफ प्रतिनिधिहरूको सहभागिता रहने लक्ष्य राखिएको छ।
कार्यक्रमका मुख्य आयोजकमध्ये एक अन्तर्राष्ट्रिय सेफ सोसाइटी क्यानाडाका वरिष्ठ उपाध्यक्ष ईश्वर पन्त का अनुसार सम्मेलनको मुख्य उद्देश्य नेपाली सेफहरूलाई एकताबद्ध गर्दै उनीहरूको पेशागत अवसर र चुनौतीबारे छलफल गर्नु हो। उनले भने ‘नेपाली सेफहरू विश्वका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तर, पेशागत रूपमा संगठित हुने अवसर अभावमा उनीहरूको क्षमता अझै पूरा रूपमा उजागर हुन सकेको छैन। यो महाधिवेशनले नेपाली सेफहरूको प्रवर्द्धन मात्र होइन, उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा थप अवसर सिर्जना गर्ने दिशामा मार्गनिर्देशन गर्नेछ।’
उनका अनुसार सम्मेलनमा नेपाली खानाको मौलिकता, अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानाको प्रवर्द्धन, सेफहरूको अधिकार तथा प्रशिक्षणका सम्भावनाहरूबारे पनि गहन छलफल हुनेछ।
सम्मेलनका मुख्य आकर्षणहरू नेपाली सेफहरूद्वारा ४० वटा स्टलमा विभिन्न परिकार प्रदर्शन, ‘भान्से महासङ्ग्राम २०८२’ – कलेजस्तरका विद्यार्थीहरूबीच कुकरी प्रतियोगिता, नेपाली खानाको प्रवर्द्धनका लागि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, उत्कृष्ट सेफहरूलाई ‘सेफ अवार्ड’ द्वारा सम्मान सेफ सोसाइटीको औपचारिक पुस्तक विमोचन, लोपोन्मुख नेपाली संस्कृतिका झाँकी प्रदर्शन, कम्तीमा ६ वर्षको अनुभव भएका सेफहरूलाई प्रमाणपत्र तथा सदस्यता प्रदान गरिने छ ।
सेफ सोसाइटी नेपालका संयोजक अरुणिमा अरुण अधिकारी का अनुसार सम्मेलनको मुख्य उद्देश्य नेपाली सेफहरूको व्यावसायिक सञ्जाललाई बलियो बनाउनुका साथै नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो। उनले भने, ‘यो सम्मेलनले नेपाली सेफहरूको क्षमतालाई पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खानाको प्रचार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सेफहरूको व्यावसायिक भविष्यका लागि यो एक ऐतिहासिक अवसर हुनेछ।’
सन् २०१८ मा युएईबाट सुरु भएको सेफ सोसाइटी अहिले ३६ देशमा संगठित भइसकेको छ। हाल ती मुलुकहरूमा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै आयोजकहरूले नेपालमा हुने महाधिवेशनबाट आगामी नेतृत्व चयन गरिने बताएका छन्।
सेफहरूको ऐतिहासिक भेला ‘भान्से महासङ्ग्राम २०८२’ को तयारी तीव्र पारिएको छ। नेपाली सेफहरूको एकतामा केन्द्रित यो महाधिवेशन नेपाली खानालाई विश्वस्तरमा चिनाउन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।