फूलको व्यापारबाट आत्मनिर्भर सरिश्मा गुरुङ

Spread the love
       
 
 
    

बन्दीपुर –आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले आफ्नो मेहनत र लगनशीलताले फूल व्यवसायलाई आकर्षक आयश्रोतमा परिणत गरेकी छन् । सानो लगानीबाट सुरु गरेको व्यवसाय अहिले लाखौँ रुपैयाँको कारोबारमा परिणत भएको छ ।

विसं २०७७ मा मात्र तीन हजार पाँच सय रुपैयाँको लगानीबाट सुरु गरेको फूल व्यवसाय आज एक सफल उद्यमको रुपमा स्थापित भएको छ । सुरुमा फूल बिक्री गर्दै आएकी गुरुङले विस्तारै सभा–सेमिनार, विवाह, पास्नी, तथा अन्य उत्सवहरूको सजावटसमेत गर्न थालिन् ।

मासिक दुई लाख आम्दानी

गुरुङको अनुसार, राम्रो सिजनमा मासिक २० लाखसम्मको कारोबार हुन्छ भने अन्य समयमा पनि ८–९ लाख रुपैयाँसम्मको व्यापार हुने गर्छ । व्यापारबाट खर्च कटाएर सरिश्माले मासिक झन्डै दुई लाख रुपैयाँ बचत गर्ने गरेको बताइन् ।

उनको सेवा पोखरा र काठमाडौँसम्म विस्तार भइसकेको छ । ग्राहकलाई थप सहजता दिन उनले काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरिरहेकी छन् । फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापनाको योजना समेत बनाएकी छन् ।

भविष्यको योजना

गुरुङले आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै जग्गा खोजी गरी फूल तथा बिरुवा उत्पादनलाई प्रभावकारी बनाउने योजना बनाएकी छन् । यसले न केवल उनको आम्दानी बढाउनेछ, बरु स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अवसर पनि प्रदान गर्नेछ ।

सरिश्मा गुरुङको यो सफलता नेपालमा सानो लगानीबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । आत्मनिर्भर बन्न चाहने नवउद्यमीका लागि उनको कथा प्रेरणादायी बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *