होली: रंगको पर्व कि डरको छायाँ?

Spread the love
       
 
 
    

बिहान उज्यालो सँगै ढोका खोल्दा क्षण त मन रमायो, वातावरण नै बदलिएको जस्तो लाग्यो। आँगनभरि अबिरका दाग, गल्ली गल्लीमा रंगिएका अनुहारहरू, कतै लय मिलाउँदै बजिरहेका मादलहरू, अनि नजिकैको चोकमा नाचगान गर्दै गरेका युवाहरू। तर, मनभित्र कतै एउटा डर, एउटा असहजता पनि थियो।

यो दिनले सबैलाई स्वतन्त्रता दिएको छ, सबैलाई खुला रुपमा रमाउन प्रेरित गरेको छ, तर यही स्वतन्त्रताले कतै कसैलाई सीमित पनि बनाएको छ। खास गरेर महिलाहरूलाई। कतिपयका लागि यो रंगको उत्सव हो, रमाइलोको दिन हो, तर कतिपयका लागि यो त्रासदीको दिन। गल्लीमा हिँड्दा, भीडमा परेर अञ्जान हातहरू शरीरमा दौडिएको अनुभूति गर्नेहरूको लागि। “होलीको बहानामा” भनेर अनुचित छुनेहरू, जबर्जस्ती अंगालो मार्नेहरू, रङसँगै लाज पनि पखाल्नेहरू।

आज पनि सम्झिन्छु, स्कूल पढ्दा पहिलोपटक होली खुलेर खेल्न खोजेकी थिएँ। साथीभाइसँग बाहिर निस्कने योजना बनाएको थिएँ। सबैले कति रमाइलो गर्छन् भन्ने सुनेर मनमा उत्साह थियो। तर, भीडमा पस्ने बित्तिकै थाहा भयो— यो दिन सबैको लागि समान छैन। जबर्जस्ती अनुहारमा रंग दल्ने बहानामा कसैले कपाल समायो, कसैले शरीर छोयो। हाँस्दै टाढा सरेँ, तर फेरि कसैले पछाडिबाट बेस्सरी अँगालो मार्दै भने, “बुरा न मानो, होली है!”

त्यसपछि होलीले खुसी होइन, डर दिन थाल्यो। घरबाहिर निस्कँदा मनमा त्रास हुन्छ। एउटै गल्ती— महिला भएर जन्मिनु। सडकमा निस्कने हिम्मत गरेपछि कसैले पछाडिबाट बेस्सरी रंग छ्यापिदिन्छ, कसैले लाजै नमानी शरीरमै हात दौडाउँछ, कतै पानीको बहानामा कपडा चिस्याएर असजिलो बनाउनेहरू। होली खेल्न खोज्दा कहिल्यै आफू सुरक्षित रहन्छु कि रहन्न भन्ने निश्चित हुँदैन।

रंगले मात्रै होइन, भीडले पनि त्रास दिन्छ। सडकभरि मदिराले लठ्ठ परेका युवाहरू, उन्मादमा सीमा नाघिसकेका हुलहरू, आफूलाई महान ठान्ने पुरुषहरूको झुण्ड। “यत्रो रमाइलो दिनमा डराएर बस्ने?” भन्ने प्रश्नले अझ चिढाउँछ। होली सबैको हो, रमाइलो सबैले गर्न पाउनुपर्छ, तर किन कुनै विशेष समूहले मात्र डर, असहजता, हिंसा सहनुपर्छ?

होलीको सुरुवातको कथा धेरै छन्, तर सबैभन्दा चर्चित कथा हिरण्यकश्यपु, प्रह्लाद र होलिकासँग जोडिएको छ। हिरण्यकश्यपु एक शक्तिशाली असुर राजा थिए, जसले आफूलाई भगवान् घोषित गरेका थिए। उनको छोरा प्रह्लाद भने भगवान् विष्णुको भक्त थिए। आफ्नो छोराको भक्ति नसहने हिरण्यकश्यपुले अनेकौं तरिकाले उनलाई मार्ने प्रयास गरे। अन्ततः, होलिका— जसलाई आगोले नसताउने वरदान थियो— प्रह्लादलाई काखमा राखेर आगोमा बस्न गइन्। तर, भगवानको कृपाले प्रह्लाद सुरक्षित रहे, होलिका आफैं भष्म भइन्। त्यसैले, होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ।

श्रीकृष्ण र राधाको प्रेम कथाले पनि होलीलाई विशेष बनाएको छ। कृष्ण गोरो नभएर कालो थिए, त्यसैले उनी चिन्तित हुन्थे कि राधा उनलाई मन पराउँछिन् कि पराउँदिनन्। यशोदाले उनलाई सुझाइन्— “तिमीले राधालाई रंग लगाइदेऊ।” कृष्णले राधालाई रंग लगाएर प्रेम प्रकट गरे। त्यसपछि, रंगहरूले प्रेमको प्रतीकको रूप लियो।

तर, यो पर्व केवल धार्मिक मात्र होइन। यो मौसम परिवर्तनसँग पनि जोडिएको छ। चिसो जाडो सकिएर गर्मी लाग्न थालेको संकेत होलीले गर्छ। यो नयाँ जीवनको स्वागत हो, प्रकृतिसँगको सम्बन्ध हो।।

तर अहिले त झन् सीमा नाघ्न थालेको छ। रंगको नाममा दुर्व्यवहार मात्रै होइन, सामाजिक सञ्जालमा भिडियो खिचेर अपमान गर्ने, भीडमा लुछाचुँडी गर्ने, मदिरा पिएर असभ्य व्यवहार देखाउने प्रवृत्ति बढेको छ। होली एउटा खुसी साट्ने पर्व हुनुपर्ने हो, तर यो झन्-झन् पीडा साट्ने दिन बन्दै गएको छ।

तर, यो पर्वको सुन्दर पक्ष पनि छ। होली आफैंमा खराब होइन, यसलाई मनाउने तरिका विकृत बनेको छ। होलीको दिन सबै पुराना रिसइवी भुलेर आत्मीयता साट्ने परम्परा थियो, जुन अझै कतिपय ठाउँमा जीवित छ। कतिपयले शुद्ध प्राकृतिक रंग लगाएर, परिवार र छिमेकीसँग मिलेर संस्कृतिक रूपमा मनाइरहेका छन्।

तर, फेरि सोच्छु— के म आफूलाई फेरि खुला रूपमा होली खेल्ने अनुमति दिन सक्छु? के म रंगको पर्वलाई वास्तविक उत्सवको रूपमा आत्मसात गर्न सक्छु?

सायद, त्यो दिन आउला जब होलीको रङले डर होइन, सुरक्षा दिनेछ। जब रमाइलो सबैका लागि समान हुनेछ। जब ‘बुरा न मानो, होली है!’ भन्ने वाक्य कुनै महिलाका लागि त्रासको होइन, साँच्चै रमाइलोको अर्थ दिनेछ।

रङ खेल्न मन छ, तर जबर्जस्ती होइन। आत्मीयता बाँड्न मन छ, तर हिंसाबाट होइन। उत्सव मनाउन मन छ, तर असजिलो होइन। होली साँच्चै रमाइलो होस्, जहाँ रंग मात्रै छरियोस्, डर होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *