‘राजागंज’ सेन्सरमा रोकियो, ‘कुहिएको आँप’ शब्द हटाउन सुझाव

Spread the love
       
 
 
    

काठमाडौं । मधेस आन्दोलनको कथावस्तुमा आधारित चलचित्र ‘राजागंज’ सेन्सर पासमा अड्किएको छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै सच्याएर ल्याउन निर्देशन दिएको छ।

विशेषगरी, ‘कुहिएको आँप’ भन्ने शब्दप्रति सेन्सर बोर्डले असहमति जनाउँदै हटाउन सुझाएको छ। निर्माण पक्षले उक्त शब्द हटाए चलचित्रको मूल सन्देश कमजोर हुने तर्क गर्दै नहटाउने अडान लिएको छ। सेन्सर बोर्डले भने यदि हटाउन सकिँदैन भने प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र ल्याउन निर्देशन दिएको स्रोतले जनाएको छ।

यससँगै, चलचित्रमा समावेश केही राजनीतिक तथा न्यायिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता पनि सेन्सर बोर्डले हटाउन भनेको छ। सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यका अनुसार, “सम्बन्धित व्यक्तिको अनुमति नलिई अन्तर्वार्ता समावेश गरिएको पाइयो, जसले पछि विवाद निम्त्याउन सक्छ।”

मधेस आन्दोलनको कथा बोकेको ‘राजागंज’
दीपक रौनियारको निर्देशनमा बनेको ‘राजागंज’ मधेस आन्दोलनको पृष्ठभूमिमा तयार गरिएको चलचित्र हो। सन् २०१५ मा नेपालको नयाँ संविधान जारी भएपछि मधेसमा भएको विरोध र त्यस क्रममा एक सभासद तथा प्रधानाध्यापकका छोराको अपहरण प्रकरणमा केन्द्रित रहेर फिल्म निर्माण गरिएको छ।

आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारहरूले अभिनय गरेको यो चलचित्र चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्र ‘राजागंज’ को निर्माणमा आदि फिल्म्स, बासुरी फिल्म्स, तन्हाउसर गेट तथा अभिनेता दयाहाङ राईको सहकार्य रहेको छ। नेपालमा यसलाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *