फिल्मी दृश्यको खोजीमा माग्ने राजा: राजावादी प्रदर्शनका झण्डा क्यामेरामा कैद

Spread the love
       
 
 
    

काठमाडौं । फिल्म ‘माग्ने राजा’ का लागि नेपालको झण्डासहितका दृश्य आवश्यक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको राजावादी प्रदर्शनका दृश्य क्यामेरामा कैद गरिएको छ।

निर्देशक ऋषि लामिछानेका अनुसार, फिल्मका लागि नेपाल झल्किने दृश्यहरू आवश्यक रहेकाले विमानस्थलदेखि महाराजगञ्जसम्मको यात्रा क्रममा देखिएको नेपाली झण्डाको दृश्यहरूलाई प्राथमिकताका साथ खिचिएको हो। सात क्यामेराम्यान परिचालन गरेर एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै महाराजगञ्जसम्मको दृश्यहरू खिचिएको उनले जानकारी दिए।

लामिछानेका अनुसार, आयोजकको स्वीकृति लिएर मात्र छायांकन गरिएको हो। “हामीले कुनै पार्टीको झण्डा वा नाराबाजीभन्दा नेपाललाई प्रतिनिधित्व गर्ने झण्डा भएका दृश्यहरू समेट्न खोजेका हौं,” उनले भने। यद्यपि, जुलुसमा देखिएका पोस्टर तथा आवाज भने फिल्ममा समावेश गरिने छैन।

फिल्ममा २ देखि ३ मिनेटसम्म यी दृश्य प्रयोग गरिनेछ। ‘माग्ने राजा’ मा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा छन् भने वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय रहनेछ। दोस्रो चरणको छायांकन केही दिनमै सुरु हुने र तीजसम्म फिल्मको छायांकन सम्पन्न गरिने बताइएको छ।

यसअघि पनि नेपाली फिल्म निर्देशकहरूले विभिन्न प्रदर्शन र अवसरलाई दृश्य कैद गर्न प्रयोग गरेका थिए। तर, ‘माग्ने राजा’ मा नेपालको झण्डा झल्काउने उद्देश्यले पूर्वराजाको स्वागत दृश्य समावेश गरिनु विशेष मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *