नेपाली युवाको ज्ञान र सीपले देशलाई समृद्ध बनाउने उपाय

Spread the love
       
 
 
    

“विदेशमा पढ्न गयौ भने फर्केर के नै गर्न सक्छौ र?” धेरैलाई यो प्रश्नले सताउँछ। विदेशमा जानुअघि घरपरिवारले भनेको सम्झन्छन् धेरैजना, “पढेर फर्केर देशका लागि केही गर्नु पर्छ।” तर, सधैं यो सम्भव होला त? केही दिन अगाडि अनौपचारिक गफमा  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई  यसबारे फरक दृष्टिकोण  राखेका थिए ।  मलाई पनि अलिकति  यो विषयमा जान्ने इच्छा भएको कारणले गर्दा विस्तृत रुपमा बुझ्नको यो विषयमा हामी केहीबेर गफै गर्यौं । उनको अनुसार, विदेशमा सिकेको ज्ञान र सीपले देशलाई फाइदा पुर्‍याउने अनगिन्ती तरिका छन्।  अध्यक्ष  भट्टराई भन्छन्, “यो सोचाइ बदल्नुपर्छ। विदेशमा पढेका विद्यार्थीहरूले नेपाललाई नलेज इकोनोमीको शक्ति केन्द्र बनाउने जिम्मेवारी लिइसकेका छन्।”

नलेज इकोनोमी भन्नाले ज्ञान, सीप, र प्रविधिलाई मुलुकको आर्थिक विकासको मुख्य साधन बनाउने प्रणाली हो। यो प्राकृतिक स्रोत वा औद्योगिक उत्पादनमा आधारित अर्थतन्त्रभन्दा भिन्न छ। यसमा मुख्यतः मानिसको दिमाग र सिर्जनशीलताको उपयोग हुन्छ। अध्यक्ष भट्टराईका अनुसार, “नलेज इकोनोमी भनेको केवल डिग्री हासिल गर्ने कुरा होइन। यो तपाईंले विदेशमा सिकेका सीप, विचार र प्रविधिलाई आफ्नो देशको विकासमा लगानी गर्ने कुरा हो। अहिलेको युगमा ज्ञान र सीपले नै संसार हाँकिरहेको छ। नेपालले पनि यही बाटो अपनाउनु समय आइसकेको छ।

हामी प्राकृतिक स्रोतमा मात्रै भर परेर आत्मनिर्भर हुन सक्दैनौं। ज्ञान र प्रविधिको सदुपयोग नगरेसम्म समृद्धि सम्भव छैन। विश्वका धेरै मुलुकहरूले आफ्नो अर्थतन्त्रलाई नलेज इकोनोमीमा रूपान्तरण गरेका छन्। दक्षिण कोरिया र सिंगापुर जस्ता मुलुकहरूले शिक्षा र प्रविधिमा लगानी गरेर ठूलो आर्थिक उन्नति गरेका छन्। नेपालका युवाहरूमा अथाह प्रतिभा छ। यदि उनीहरूले विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा प्रयोग गरे भने देशको विकासमा ठूलो फड्को मार्न सक्छौं।

विदेशबाट फर्केका युवाहरूले स्टार्टअप खोलेर धेरैलाई रोजगारी दिन सक्छन्। कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा नयाँ व्यवसायले देशको अर्थतन्त्र बलियो बनाउन सक्छ। विदेशमा सिकेका अनुसन्धान पद्धति नेपालका विश्वविद्यालय र प्रयोगशालामा प्रयोग गर्न सकिन्छ। विदेशमा बनाएको सम्पर्क र सीप प्रयोग गरेर नेपाली व्यवसायले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ। विदेशमा पढेका युवाहरूले नेपालका समस्या समाधान गर्न विश्वस्तरीय समाधान खोज्न सक्छन्।

नेपालमा अहिले पनि धेरै सम्भावना छ। सरकारले नलेज इकोनोमीलाई नीति निर्माणको केन्द्रमा राख्न जरुरी छ। विद्यार्थीलाई विदेशमा पढ्न जानुअघि र फर्किएपछि तालिम दिने प्रणाली बनाउनु आवश्यक छ। अध्यक्ष भट्टराईका अनुसार, “नेपालका विद्यार्थीहरूले विदेशमा सिकेका प्रविधि र नयाँ आइडियालाई नेपालमा कार्यान्वयन गर्नुपर्छ। तपाईं सानो व्यवसाय खोलेर पनि धेरैलाई प्रेरणा दिन सक्नुहुन्छ। अनलाइन माध्यमबाट नेपालमा तालिम र सल्लाह प्रदान गर्न सकिन्छ।” त्यस्तै त्यस्तै “हाम्रो देशले धेरै परिमाणमा श्रम शक्तिलाई निर्यात गरिरहेको छ। तर, शिक्षित जनशक्तिले यहाँ आएर उद्योग र नवप्रवर्तनमा योगदान गर्न थाले भने हामीले आयातमा निर्भर हुनुपर्ने अवस्था घट्छ,” उनले स्पष्ट पारे।

विदेशमा अध्ययन गरेका विद्यार्थीहरूका लागि अध्यक्ष भट्टराईको सन्देश छ: “देश फर्कनु अनिवार्य छैन। तपाईं जहाँ भए पनि, तपाईंको ज्ञान र सीपले देशलाई फाइदा पुर्‍याउन सक्छ।” नेपाललाई नलेज इकोनोमीको दिशामा अगाडि बढाउन विदेशी शिक्षा हासिल गरेका विद्यार्थीहरू मुख्य शक्ति हुन्। देशको समृद्धि तपाईंको सानो योगदानबाटै सम्भव छ।विदेशमा पढेर फर्केका विद्यार्थीहरूका लागि यो सोच राख्न महत्त्वपूर्ण छ कि उनीहरूले केवल आफ्नै भविष्य बनाउने होइन, देशको भविष्य निर्माणमा पनि हातेमालो गर्नुपर्छ।

यसरी, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सके, नेपाललाई आत्मनिर्भर र समृद्ध बनाउने सपना पूरा गर्न सकिन्छ। ज्ञान अर्थतन्त्रको यो अभियानमा हरेक नेपाली विद्यार्थीको भूमिका महत्वपूर्ण हुनेछ। नलेज इकोनोमीलाई प्रवर्द्धन गर्न राज्यले शिक्षा प्रणालीलाई सीपमुखी बनाउन, अनुसन्धान तथा विकासमा लगानी बढाउन, डिजिटल प्रविधिको पहुँच विस्तार गर्न, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न, र विदेशी शिक्षाबाट फर्केका युवाको ज्ञान उपयोग गर्न नीति निर्माण गर्नुपर्छ। साथै, अन्तर्राष्ट्रिय साझेदारीमार्फत प्रविधि हस्तान्तरण, ई–गभर्नेन्स लागू गर्ने, र प्रतिभा पलायन रोक्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। नलेज इकोनोमीको अवधारणा नेपालका लागि भविष्यको मार्गदर्शक बन्न सक्छ। यदि राज्यले सही नीति र कार्यक्रममार्फत यसलाई उचित तरिकामा अघि बढाउँछ भने, हाम्रो युवा पुस्ताले न केवल आत्मनिर्भरता हासिल गर्न सक्छ, बरु देशलाई समृद्धि र प्रगतिको नयाँ युगमा पुर्‍याउन सक्छ। अब समय आएको छ कि हामी ज्ञान र प्रविधिलाई हाम्रो सम्पत्ति मानौं र यसको सदुपयोग गरेर हाम्रो राष्ट्रलाई भविष्यको आर्थिक शक्तिका रूपमा स्थापित गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *