नेपाल स्काउटका निर्देशक भट्टराईविरुद्ध छानबिनको माग, कारबाही नभए आन्दोलनको चेतावनी
काठमाडौं – नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको आरोप लागेको छ। नेपाल स्काउट शुद्धीकरण अभियानले सोमबार पत्रकार सम्मेलन गर्दै १० वटा गम्भीर आरोप सार्वजनिक गर्दै छानबिन र कारबाहीको माग गरेको छ। अभियानले यसअघि खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको भन्दै आन्दोलनको चेतावनीसमेत दिएको छ।
शुद्धीकरण अभियानको गम्भीर आरोप
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले भट्टराईमाथि भएका आरोपहरूको विस्तृत सूची सार्वजनिक गर्दै भने,
“नेपाल स्काउटका निर्देशक भट्टराईले पदको चरम दुरुपयोग गर्दै आर्थिक अनियमितता मात्र गरेका छैनन्, संस्थाभित्र स्वेच्छाचारी निर्णय गर्दै संस्थाको हितविपरीत गतिविधि गर्दै आएका छन्। हामीले यसअघि नै खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाएर कारबाहीको माग गरेका थियौँ, तर अहिलेसम्म कुनै ठोस प्रक्रिया अघि बढाइएको छैन। यदि सरकारले गम्भीर रूपमा नलियो भने हामी बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौँ।”
शुद्धीकरण अभियानका अनुसार भट्टराईले नियम विपरित निर्णय गर्दै इजिप्टमा आयोजित विश्व स्काउट सम्मेलनमा अनावश्यक खरिद देखाएर रकम भुक्तानी लिएको, नियमविपरित सवारी साधन सुविधा तलबमा थपेर लिएको, नियमावली संशोधन प्रक्रियामा परिषद्मा छलफल नै नगरी मनोमानी निर्णय गरेको, कार्यकारी समिति गठनमा अनियमितता गरेको, स्वीकृत बिदा नलिई अनुपस्थित रहँदा कनिष्ठ कर्मचारीलाई नियमविपरित निमित्त दिएको, स्काउटका भवनहरू प्रयोग गर्न सकिने कार्यक्रमहरू फाइव-स्टार होटलमा आयोजना गर्दै अनावश्यक आर्थिक भार थपेको जस्ता गम्भीर आर्थिक अनियमितता गरेका छन्।
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा वुड ब्याज स्काउटर तरूण दत्त रञ्जनले भने,
“नेपाल स्काउटको मूल सिद्धान्त भनेको अनुशासन, पारदर्शिता र सेवा भावना हो। तर, हालको नेतृत्वले यी सबै मूल्यहरू भत्काएको छ। नियम नै नमान्ने, संस्थालाई आफ्नो व्यक्तिगत सम्पत्ति जसरी चलाउने प्रवृत्तिको हामी घोर विरोध गर्दछौँ। यस्तो प्रवृत्तिले स्काउट आन्दोलनलाई कमजोर बनाउनेछ। नेपाल स्काउटका सच्चा सदस्यहरूले अब चुप लागेर बस्ने छैनन्।”
नेपाल स्काउट शुद्धीकरण अभियानका सक्रिय सदस्य आशिक कार्कीले भने,
“हामी स्काउटहरू समाजका लागि सकारात्मक परिवर्तन ल्याउने नेतृत्व उत्पादन गर्छौं, भ्रष्टाचार उत्पादन गर्ने संस्था बनाउने होइन। स्काउटका निर्देशक पदमा बसेर अनियमितता गर्नेलाई उन्मुक्ति दिनु हुँदैन। हामीले पटक–पटक प्रमाण सहित आवाज उठाउँदा पनि कारबाही नहुनु सरकारकै लाचारीपन हो। हामी अब यो लडाइँलाई निष्कर्षमा पुर्याउँछौँ। छानबिन र कारबाही नभए आन्दोलनलाई कडा बनाइनेछ।”
शुद्धीकरण अभियानले भट्टराईमाथि कार्यालयमा दुर्व्यवहार र यौन दुर्व्यवहारको गम्भीर आरोप समेत लगाएको छ।
संयोजक अधिकारीले सरकारलाई चेतावनी दिँदै थपे,
“नेपाल स्काउटलाई संस्थागत रूपमा बिगार्ने जोसुकै भए पनि अब हामी चुप लाग्ने छैनौँ। यदि सरकारले छानबिन प्रक्रिया अघि बढाएन भने, हामी चरणबद्ध आन्दोलनमा जानेछौँ। पहिलो चरणमा काठमाडौँमा विरोध कार्यक्रम हुनेछ, त्यसपछि देशभरका स्काउट सदस्यहरूलाई संगठित गरेर कडा दबाब सिर्जना गर्ने योजना छ।”
खेलकुद मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। मन्त्री चौधरीकै संरक्षणमा भट्टराईमाथि कारबाही हुन नसकेको आरोप लाग्दै आएको छ। स्काउटका सदस्यहरूबीच यसबारे कडा असन्तुष्टि देखिएको छ।