विश्वदीपले छाडे बाबुरामको साथ, माओवादी केन्द्रमा फर्किएका उनले भने, ‘पुराना यादले भावुक बनायो’

Image

काठमाडौं – नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेय नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। आइतवारमात्र नेसपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गरेका पाण्डेय सोमवार माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराएको छन्।

जनयुद्धकालमा माओवादी राजनीतिमा बुवा भक्ति पाण्डेय सहित होमिएका नेता पाण्डेय बाबुराम भट्टराई निकट थिए। पछि भट्टराईले पार्टी छाड्दासँगै बाहिरिएका थिए। उनले लामो समय भट्टराईको स्वकीय सचिव भएर काम समेत गरेका थिए। भट्टराईको साथ किन छाडे भन्ने एकिन नभए पनि धेरैले अस्थिर बाबुराम र उनको मिसनमा सफलता नदेख्दा पार्टी छाडेको अनुमान छ ।
 
उनले केही वर्षको उतारचढाव,आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै नेकपा माओवादी केन्द्रमै फर्किएको उल्लेख गरेका छन् । ‘माओवादी  पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । यहाँ मेरा लागि पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने पूर्ण विश्वास छ,’ उनको भनाइ छ ।

सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने उनको तर्क छ। उनको भनाइ छ, ‘आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवश्यक छ ।’
 
उनले यो क्षणले भावुक भएको र आफूले भूमिका निभाएको तथा बुबाले जीवन समपर्ण गरेको पार्टीमा फर्किएको उल्लेख गरेका छन् । ‘यो क्षण म केही भावुक पनि भएको छु। कतिपय पुराना र पेचिला स्मरण जीवन्त भएर आएका छन् । यो पार्टी र आन्दोलनको निर्माणमा मेरो बुबाको सम्पूर्ण जीवन नै समर्पित भयो । म आफूले यसमा सक्दो भूमिका र योगदान गरेँ,’ उनको भनाइ छ, ‘कतिपय राजनीतिक घटनाक्रमको जटिलताले हामी केही टाढा/नजिक भयौं होला तर, भविष्यका नयाँ चुनौती पूरा गर्न यो पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाईमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामवद्ध भएको छु ।’

 

Tags: