ओशोधाराको निरती योग कार्यक्रम सम्पन्न

Image

काठमाडौं – अप्रिल १२ देखि १४ सम्म काठमाडौंमा सञ्चालन भएको ओशोधारा नेपालको तेस्रो तहको तीन दिवसीय योग समाधी साधना शिविर सम्पन्न भएको छ। तमसोमा ज्योतिर्गमयःको साक्षात्कार, परमात्माको दिव्य प्रकाशसँग साक्षात्कार हुँदै, आलोकमय ऊर्जासँग एकाकार हुने निरती योगको साधनाबाट ३५ जना भन्दा बढी साधकले लाभ लिएको बताइएको छ ।

कार्यक्रममा सुमिरन योग, आलोक योग, दर्शन योग र ओशो किर्तन सन्ध्याको माध्यमबाट दिव्य चेतनासँग जोड्ने प्रयास गरिएको थियो । सहभागीले दिव्यताको अनुभूतिका साथमा गहिराइको साधनामा अभ्यासरत रहने सहज योगको साधनाबाट आन्तरिक शान्ति, सृजनात्मकता र कार्यकुशलतामा आएको परिवर्तन महसूस गरेका थिए ।

सहभागी मध्येकी एक मञ्जु घिमिरेले आफ्नो आन्तरिक साधना, आन्तरिक रहस्य उजागर भएको अनुभव गरेको बताइन्। अर्का सहभागी सविना राईले समर्पण र दिव्यतालाई आफ्नो जीवनशैली बनाउने कला सिकेको र त्यसको गहिराईको अनुभूति गरेको बताइन्। सहभागी विक्रम भट्टराईले ओशोधाराको पहिलो तहबाट कार्यक्रम गर्दै तेस्रो तहसम्म आउँदा सायद जीवनमा इन्जिनियरिङ्गको पढाईबाट नसिकेको आनन्द, शान्ति, स्वस्थ, प्रफुल्लता महसूस गरेको बताए । विद्यार्थी जीवनमा नै यो साधना पद्धति सिकेर आफ्नो कर्मयोग र साधनालाई सँगै अगाडि बढाउन पाएकोमा अत्यन्त हर्षित रहेको प्रदीप महतले अनुभव सुनाए।


युवा अवस्थामा नै परमात्माको खुमारीमा डुब्न पाएको र जीवनलाई हेर्ने दृष्टिकोण नै सकारात्मक भएको सहभागी सौगात घिमिरेले बताए । जोरबा दि बुद्धको यो साधना पद्धतिले जीवनमा अहोभावका साथ जिउने प्रेरणा मिलेको सहभागी चन्दा रायमाझीले बताइन्। साधनाको आनन्द र यसले जीवनमा दिने सकारात्मक रूपान्तरण शब्दमा व्यक्त गर्न नसकिने अर्का सहभागी वीरत रायमाझीको अनुभव छ।

सहभागीलाई आचार्य डा प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य डा नम्रताले आचार्यको भूमिकामार्फत समग्र साधना विधिसँग परिचित गराएका थिए।

 

Tags: